
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६, तिल गाउँमा राहत सामग्री पुर्याइएको छ । यही जेठ १ गते राति गएको बाढीपहिरो पीडितका लागि सातदिनपछि बुधबार राहत सामग्री पुर्याइएको हो ।
पहिरोको जोखिममा रहेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य संघ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिल गाउँमा पुगेको हो ।
बाढीपहिरोपीडितका लागि १० क्विन्टल चामल, १०० लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल चिउरा, एक क्विन्टल भुजा, चिया, आलुको बीउ, सागसब्जीको बीउ, साबुन, औषधि, सिमेन्ट पुर्याइएको छ ।
तिल गाउँका १९ घरपरिवारका ३३ जना त्रिपालमुनि बस्दै आएका छन् । उक्त राहत सामग्री हल्जी गाउँदेखि गाडी पुग्ने ठाउँसम्म गाडीमा र त्यसपछि भरिया, घोडा र खच्चडलाई बोकाएर तिल गाउँमा पुर्याइएको हो ।