
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले बुधबार बिहान जंगलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो ।
प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चारपटक उपचार गराएको श्रेष्ठले जानकारी दिए । “हात्ती पहिल्यैदेखि बिरामी थियो,” उनले भने, “उपचार गरियो, बचाउन सकिएन ।” बिरामी भएर चरनमा जान नसकेपछि उक्त हात्तीका लागि मेचीनगरका युवाको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी)ले बन्दाकोभी, फुलकोभी, तरुल लगायतका खाना जंगलमै लगेर खुवाउने गरेको थियो ।
वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार, उक्त रैथाने हात्तीलाई ‘घुमन्ते गज’ नामकरण गरिएको थियो । लुइँटेलले झापाको जंगलमा विचरण गर्दै आएका रैथाने हात्तीलाई तिनीहरूको पहिचान र स्वाभावको आधारमा विभिन्न नामकरण गरिँदै आएको बताए ।
हात्ती मरेपछि पोस्टमार्टम जाँचका लागि कोसीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा आइपुगेको र आजै खाल्डो खनेर पुरिने जनाइएको छ । रासस