
विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सीमामा दिउँसो दुई किलो चिनी ल्याउनेलाई रोकेर राति ट्रकका ट्रक सामान छिराइने गरेको आरोप लगाएका छन् ।
बुधबार कोसी प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कार्कीले संघ र प्रदेश सरकारले सुशासनको कुरा गरे पनि विराटनगरको सीमावर्ती नाकाबाट राति ट्रकका ट्रक अवैध सामान नेपालतर्फ ल्याइने गरेको बताए ।
“सुशासनको कुरा धेरै भयो । लामो समय कांग्रेस दलका नेताले पनि सदनमा सुशासनको कुरा गर्नुभयो । नाकामा हुने झोलेपोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ । म आफैँ केही दिनअघि राति निरीक्षणमा जाँदा रानीको अरूण सिनेमा हल नजिकैको गल्लीबाट ठेलामा सरसामान भित्राने गरेको देखेँ । प्रहरी आफैँले लाइट बालेर गाडी पास गराउँदा रहेछन् । हामी राजस्वको दायरा बढाऊँ भन्छौँ । कपालभन्दा माथि उडेको हावाको कर लिने ?,” उनले भने ।
संघ सरकारसँग लडेर प्रदेशको अधिकार स्थापित गर्ने दिशामा प्रदेश सरकार सक्रिय हुनुपर्ने उनको भनाइ छ । “के हामी तलब बुझ्नमात्र आएका हौँ ? प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका सचिवलाई अध्यक्ष बनाइयो । अघिल्ला बैठकहरूमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीले अध्यक्षता गर्ने अभ्यास थियो । म आफैँ आन्तरिक मामिला मन्त्री छँदा अध्यक्षता गरेको हो,” उनले भने ।
केहीदिन पहिले विराटनगरमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको अध्यक्षता गृह मन्त्रालयका सचिवले गरेका थिए । उनले आवश्यकता वा शक्ति केको आधारमा विपद्सम्बन्धी बजेट वितरण गरिएको हो भन्दै सरकारसँग प्रश्न गरे ।