
काठमाडौं । पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीर फिल्ड मार्सल पदमा बढुवा भएका छन् । करिब ६० वर्षमा पहिलोपटक कुनै जनरल फिल्ड मार्सल पदमा बढुवा भएका हुन् ।
प्रधानमन्त्री शहबाज शरिफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उनको बढुवा भएको रोयटर्सले जनाएको छ ।
भारतसँग तीन दशकपछिको सबैभन्दा ठूलो सैन्य संघर्ष भएको केही दिनपछि पाकिस्तान सरकारले सेना प्रमुखको बढुवा गरेको हो ।
सेना प्रमुख मुनीरले राष्ट्रिय सुरक्षा सुनिश्चित गरेको र शत्रुलाई निर्णायकरूपमा पराजित गरेको प्रधानमन्त्रीको कार्यालयले बताएको छ । उनी रणनीतिक प्रतिभा र साहसी नेतृत्व भएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एक सुरक्षा अधिकारीले फिल्ड मार्सल पदलाई पाँचतारे औपचारिक पद भनेर चिनाएका छन् । यसले प्राय: असाधारण नेतृत्व र युद्धकालीन उपलब्धिलाई जनाउँछ ।
"यो बढुवा सन् १९६५ मा पाकिस्तानी तानाशाह जनरल अयूब खानले आफैँलाई फिल्ड मार्सल बनाएपछि पहिलो हो," ती सुरक्षा अधिकारीले भने ।
उनको भनाइमा नयाँ औपचारिक पद प्राप्त गरे पनि मुनीर सेना प्रमुख नै रहनेछन् ।
यस्तै, मन्त्रिपरिषद्ले पाकिस्तान वायुसेना प्रमुख एयर मार्सल जाहिर अहमद बाबर सिद्धुको सेवा अवधि सकिएपछि पनि बढाउने निर्णय गरेको छ ।
रोयटर्सबाट ।