
काठमाडौं । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, स्थित नयाँपाटीमा बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–४ का २९ वर्षीय प्रविण तामाङ, सर्लाहीको वाग्मती गाउँपालिका–३ का २३ वर्षीय समिर वाइबा तामाङ, २६ वर्षीय अभिषेक वाइवा तामाङ छन् ।
यस्तै, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोकको चौँरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ पनि पक्राउ परेका छन् ।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।