
काठमाडौं । रूसले बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म युक्रेनमा ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ । यसले युक्रेनको राजधानीका धेरै भवनहरू र आवासीय क्षेत्रहरूमा आक्रमणबाट क्षति पुगेको सीएनएनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फोनवार्तामा युद्धविरामको सन्दर्भमा कुनै प्रगति नभएको बताएको केही घण्टापछि यो आक्रमण भएको समाचारमा उल्लेख छ ।
युक्रेनी सैन्य अधिकारीहरूका अनुसार १३ घण्टासम्म चलेको यो आक्रमणमा कम्तीमा २३ जना घाइते भएका छन् ।
युक्रेनको हवाई सेनाले युक्रेनले रूसले प्रहार गरेका रेकर्ड ५३९ ड्रोनमध्ये ४७६ वटालाई रोकेको बताएको छ । रूसले ११ क्रुज र ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको बताइएको छ ।
आक्रमणका कारण हजारौँ बासिन्दाहरूले रातभर मेट्रो स्टेसन र भूमिगत पार्किङ स्थलहरूलाई आश्रयस्थल बनाएको बताइएको छ । शुक्रबार बिहानै सहरमा विस्फोटहरू र ड्रोनहरूको आवाज सुनिएको समाचारमा उल्लेख छ ।
“किभमा पूर्णरूपमा भयानक र निद्रारहित रात बितेको छ । अहिलेसम्मकै सबैभन्दा खराबमध्ये एक रात हो यो,” युक्रेनका विदेशमन्त्री आन्द्रिय सिबिहाले भने ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई देशले देखेको सबैभन्दा ठूलो हवाई आक्रमणहरूमध्ये एक भनेर वर्णन गरेका छन् ।
युक्रेनको आपतकालीन सेवाका अनुसार, यी आक्रमणहरूका कारण धेरै सहरका भवनहरू र संरचनाहरूमा आगलागी भएको छ । बहुतले भवनहरूमा आंशिक क्षति पुगेको छ । किभको रेल मार्गको एक हिस्सा नष्ट हुनुका साथै घाइतेहरूको उद्धारमा खटिएका पाँचवटा एम्बुलेन्स पनि क्षतिग्रस्त भएका छन् ।