
एजेन्सी । फ्रान्सेली कार निर्माता रेनो एसले भारतमा सम्भावित संयुक्त उद्यमका लागि जेएसडब्ल्यू ग्रुपसँग छलफल अघि बढाएको छ । दुई अटो कम्पनीबीच वार्ता भइरहेको विभिन्न स्रोतलाई उद्धृत गर्दै समाचार संस्था ब्लुमबर्गले जनाएको छ ।
फ्रान्सेली कार निर्माता रेनोले लामो समयदेखिको साझेदार निसान मोटर कम्पनीसँगको सम्बन्ध पुनर्संरचना गर्दै विश्वको सबैभन्दा छिटो बढ्दो अटो बजारमध्ये एकमा आफ्नो स्थिति बलियो बनाउन खोजिरहेको छ ।
भारतमा आफ्नो उत्पादनलाई अझ बलियो बनाउने रेनोको व्यापक रणनीतिको अंश हो । कम्पनी चेन्नईमा रहेको संयुक्त स्वामित्वमा रहेको प्लान्टमा निसानको हिस्सेदारी प्राप्त गर्ने अन्तिम चरणमा छ । दुई अटोमेकरबीचको क्रस सेयर होल्डिङलाई १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा सीमित गर्ने योजना गत मार्चमा घोषणा गरिएको सम्झौताको एक प्रमुख चरण हो ।
भारतका अर्बपति सज्जन जिन्दलको नेतृत्वमा रहेको जेएडडब्ल्यू समूह पहिले नै अटोमोटिभ क्षेत्रमा सक्रिय छ । यसले चीनको एसएआईसी मोटर कर्पसँगको संयुक्त उद्यममार्फत एमजी मोटर इन्डियामा ३५ प्रतिशत हिस्सेदारी राखेको छ । यस समूहको स्टिल, पूर्वाधार, ऊर्जा र विद्युतीय गतिशीलतामा व्यापक चासो छ । नयाँ साझेदारीमार्फत विद्युतीय सवारी साधन क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेको बताइएको छ ।
गत मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षमा रेनोले भारतमा लगभग ३८ हजार सवारी साधन बिक्री गरेको थियो । जुन देशको यात्रुवाहक सवारी बजारको १ प्रतिशतभन्दा कम हो । सामान्य हिस्साको बाबजुद कम्पनीले क्विड ह्याचब्याक र ट्राइबर एमपीभीजस्ता मोडेलहरूको साथ उपस्थिति कायम राखेको छ । कम्पनीले भारतीय प्लान्टबाट धेरै अफ्रिकी र एसिया–प्रशान्त बजारमा निर्यात गर्दछ ।
फ्रान्सेली अटोमेकरले ऐतिहासिकरूपमा भारतमा आफ्नो सञ्चालनका लागि संयुक्त उद्यमलाई प्राथमिकता दिएको छ, जसको सुरुवात महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडबाट भएको छ । जेएसडब्ल्यूसँगको जारी वार्ताले अत्यधिक प्रतिस्पर्धी अटोमोटिभ परिदृश्यमा साझा स्वामित्वको यो ढाँचालाई प्रतिविम्बित गर्छ ।
रेनोले हालै फ्रान्सबाहिर आफ्नो चेन्नई टेक्नोलोजी सेन्टरमा सबैभन्दा ठूलो विश्वव्यापी डिजाइन स्टुडियो खोलेको छ । ब्लुमबर्गका अनुसार, कम्पनीले निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) लुका डे मेओको उत्तराधिकारीको नाम दिएपछि भारतमा आफ्नो साझेदारी रणनीतिलाई अन्तिमरूप दिन सक्छ । जसले नाफा सुधार गर्ने र उदीयमान बजारहरूमा विस्तार गर्ने कुरामा ध्यान केन्द्रित गरेका छन् ।