site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिमा पनि चाहिन्छ ‘कुलिङ पिरियड’ :  कांग्रेस नेता भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा जस्तै राजनीतिमा पनि ‘कुलिङ पिरियड’ आवश्यक रहेको बताएका छन् । कर्मचारी भएर सेवा निवृत्त वा राजीनामा दिएपछि अर्को नियुक्तिका लागि कुलिङ पिरियड लागु भएझै नागरिकता छोडेर गएकाहरूलाई राजनीति गर्ने कुलिङ पिरियड तोक्नुपर्ने बताए ।

“नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको छ । त्यस्ताहरूका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ,” भट्टराईले भने, “विगतमा यस्तो व्यवस्था थिएन । त्यही कारण विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र संवेदनशील पदमा पुगेका थिए । यो कटु यथार्थलाई मनन गर्दै कुलिङ पिरियड राख्न जरुरी छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रीलंकाको नागरिक भइसकेका डा. तुल्सी गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष भएको ०६२ सालको प्रसंगतर्फ भट्टराईको संकेत थियो । “यसो हुन नसकेमा विदेशी नागरिकता छोडेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उमेदवार बनेर लड्ने कदमले नेपाल राष्ट्रमाथि नै खतरा पैदा गर्ने हुनसक्छ,” भट्टराईले भने । 

पार्टी सभापतिले ‘अब अवकाश लिएर बस्ने हो’ भन्ने भनाइलाई स्वागत गरेका भट्टराईले महाधिवेशनको कार्यतालिका पनि ल्याएर सकारात्मक सन्देश दिन आग्रह गरे । महाधिवेशन ०८४ अगाडि हुन्छ कि हुँदैन भन्ने द्विविधामा अन्त्य गर्न कार्यतालिका आवश्यक भएको उनको भनाइ छ । “ढिलोमा ०८३ मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरौँ । म पार्टी सभापतिज्यूलाई घोषणाका लागि धन्यवाद दिन पनि चाहन्छु,” भट्टराईले भने, “देशका पूर्वराष्ट्रपति र उपराष्ट्रपति पनि फेरि सक्रिय राजनीतिमा फर्किरहेको र कतिपय राजनीतिक दलहरूमा एउटै मानिस वर्षौंसम्म नेतृत्वमा रहिरहेको अवस्थामा हाम्रो सभापतिज्यूको यो भनाइले हाम्रो पार्टी अरुभन्दा फरक हो भन्ने सकारात्मक सन्देश गएको छ ।” 

देशमा राष्ट्रिय संकट आउँदा कांग्रेसले नै समाधान दिने गरेको भन्दै पछिल्लो चरणमा घटेको कांग्रेसको मतको विषयमा गम्भीर समीक्षा जरुरी रहेको बताए । “राष्ट्रिय संकट आइपर्दा समाधान दिने काम कांग्रेस पार्टीले नै गर्दै आएको छ, देशलाई आवश्यक पर्ने सबै नीतिहरू पनि कांग्रेसले नै बनाएका र बनाउने हो,” भट्टराईले भने, “तर, पार्टीको भोट पछिल्ला निर्वाचनहरूमा घटिरहेको छ, यसको गम्भीर विश्लेषण गरी कार्ययोजना तयार पार्न जरुरी छ ।” 

कांग्रेसभित्रको गुटबन्दीले क्षमतावान व्यक्तिले उचित जिम्मेवारी नपाएको भन्दै जिम्मेवारीको न्यायोचित वितरण नहुँदा कार्यकर्ता रुष्ट रहेको बताए । “रुष्ट कार्यकर्ताको मन जित्न कार्यशैलीमा सुधार गर्छौँ भनेर आश्वस्त पार्न जरुरी छ,” भट्टराईले भने । 

भातृ संस्थामा देखिएको विवाद पार्टीले नै विधानअनुसार, चल्न नदिएका कारण आएको भन्दै उनीहरूलाई स्वायत्त रूपमा सञ्चालन हुन दिनुपर्ने बताए । “भातृ संस्था सबै विधानअनुसार चल्न नदिइएको गुनासो आएको छ । विधानअनुसार चलाउन दिएमा विवाद पनि स्वतः कम भएर जान्छ,” उनले भने, “सामाजिक सञ्जाल पनि संगठन निर्माणको प्लेटफर्म हो । यसको प्रयोग र उपयोगबारे पार्टीले नीति बनाउनुपर्छ ।”

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्