
काठमाडौं । दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता मंगलबार (जेठ ६)देखि रोयल नेपाल गल्फ क्लबमा हुँदै छ ।
स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगितामा कुल ६२ महिला गल्फ खेलाडीले भाग लिने जानकारी गराइएको छ । प्रतियोगितामा महिला ओपन, सिनियर, सुपर सिनियर र यू–१९ प्रतिस्पर्धा हुनेछ ।
महिला ओपनतर्फको विजेतालाई इलेक्ट्रिक स्कुटर र अर्शिया बुटिकका तर्फबाट गिफ्ट भौचर प्रदान गरिनेछ । अरू विधाका विजेता तथा उपविजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
मुख्य आयोजक एवं आरएनजीसीकी लेडी क्याप्टेन अर्शिया बानुले भनिन्, “देशभरबाट महिला खेलाडीहरूको सहभागिता हुनु हाम्रो लागि गर्वको विषय हो ।”
सहआयोजक एवं पूर्वराष्ट्रिय महिला गल्फर प्रतिमा शेर्पाले प्रतियोगितालाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताइन् । “यो खुला प्रतियोगिता हो र ८६ वर्षीया डा. रीता थापाजस्तो प्रेरणादायी व्यक्तित्वको सहभागिता हुनु हाम्रो लागि गर्वको कुरा हो,” उनले भनिन् ।
अर्की सहआयोजक सरिताश्री ज्ञवालीले यो प्रतियोगिता महिलाद्वारा, महिलाका लागि, महिलालाई लक्षित गरी आयोजना गरिएको बताइन् । “हामी सहभागीहरूको उत्साहजनक उपस्थितिले निकै उत्साहित छौँ र मुख्य अतिथिको रूपमा प्रसिद्ध अभिनेत्री मनीषा कोइरालालाई निम्त्याएका छौँ,” उनले भनिन् ।
पहिलो दिनको प्रतिस्पर्धापछि उत्कृष्ट १० खेलाडीले १८ होलको दोस्रो तथा अन्तिम राउन्ड खेल्नेछन् । “हामीसँग विश्व वरीयतामा नेपाली खेलाडीहरू नभएकोले उत्कृष्ट १० खेलाडीहरूलाई वरीयतामा प्रवेश गराउने योजनाअनुरूप दोस्रो दिनको प्रतिस्पर्धा गराउन लागिएको हो,” शेर्पाले भनिन् ।