site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्लाको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा बाढीपहिरोबाट विस्थापितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार (जेठ ५) गृह मन्त्रालयमा बसेको बैठकमा उनले विस्थापितलाई तत्काल त्रिपाल, खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले विस्थापितका निम्ति तत्काल हेलिकोप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए । तत्काल विस्थापितको खानेबस्ने व्यवस्था र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न उनले निर्देशन दिए ।

राहत एवं स्थलगत अध्ययननिम्ति कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न समेत उनले मातहतका निकायलाई निर्देशन दिए ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६, तिलगाउँमा एक्कासि आएको लेदोसहितको बाढीले स्थानीय विस्थापित भएका छन । त्यहाँ करिब ३२ जना विस्थापित भएका छन् ।

बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए ।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला निकायका अधिकारीको सहभागिता रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्