
काठमाडौं । भारतपछि पाकिस्तानले पनि एक प्रतिनिधिमण्डललाई विभिन्न देशहरूमा पठाउने भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीलाई विश्वका विभिन्न देशमा पठाउन लागेका हुन् । ती देशका सरकार प्रमुखहरूलाई भेटेर शान्तिको पक्षमा देशको धारणा प्रस्तुत गर्न भुट्टोलाई जिम्मेवारी दिइएको भारतको एनडीटीभीले जनाएको छ ।
चारदिने सैन्य तनावपछि युद्धविराम गर्न सहमत भएका भारत र पाकिस्तानले आ–आफ्ना देशका तर्फबाट यस्ता कार्यक्रम घोषणा गरेका हुन् ।
भारत सरकारले आफ्ना सांसदहरूलाई विभिन्न मुलुकमा आतंकवादविरुद्ध शून्य सहनशीलताको नीति र पहलगाम आतंकवादी हमलाबारे प्रमाण र पक्ष प्रस्तुत गर्न पठाउने घोषणा गरेको थियो ।
यसका लागि भारतले सातवटा प्रतिनिधिमण्डल गठन गरेको छ । भारतको यस्तो घोषणा आएको एक दिनपछि पकिस्तानले पनि सोही रणनीति अपनाएको हो ।
पाकिस्तानले भुट्टोलाई विश्व मञ्चमा आफ्नो देशको पक्षमा कुरा राख्न निर्देशन दिएको छ । यस घोषणाबारे भुट्टोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, “आज प्रधानमन्त्रीले मलाई सम्पर्क गरी अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानको शान्तिको पक्षमा कुरा राख्न प्रतिनिधिमण्डलको नेतृत्व गर्न अनुरोध गर्नुभयो । यो जिम्मेवारी स्वीकार गर्दा म गौरवान्वित छु र यस चुनौतीपूर्ण समयमा पाकिस्तानको सेवा गर्न प्रतिबद्ध छु ।”
भारतले संसद् सदस्यहरू, राजनीतिक नेताहरू र पूर्वकूटनीतिज्ञहरू समावेश गरी सात भारतीय प्रतिनिधिमण्डल उत्तर अमेरिका, युरोप र पश्चिम एसियाका प्रमुख देशका राजधानीमा पठाउन लागेको छ ।
जसमा कांग्रेस नेता शशि थरुर, भाजपा नेता रवि शंकरप्रसाद, पूर्वजम्मू–कश्मीर मुख्यमन्त्री गुलाम नबी आजाद र एआईएमआईएम नेता असदुद्दिन ओवैसीसहित छन् ।