
काठमाडौं । फाइनलमा साविक विजेता बंगलादेशविरुद्ध ‘टाइब्रेकर’मा जित निकाल्दै भारतले साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार गोल्डेन जुबिली रंगशाला युपियामा भारतले बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले निराश बनाएको हो ।
पेनाल्टीमा भारतका सिंगामायुन सामी, जोड्रिक अब्रान्चेस, ऋषी सिंह र अर्बासले गोल गरे । भारतका रोहन सिंहको प्रहार विफल भएको थियो ।
बंगलादेशका मोहम्मद जोय अहमेद, मोहम्मद मुर्सेद अली र मिथुले गोल गरे । बंगलादेशका सालाह उदिन साहेद र नज्मुल हुडा फैसलको प्रहार विफल भएको थियो ।
खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
खेलको दोस्रो मिनेटमै सामीले गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए । ६१औँ मिनेटमा जोयले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।
यसअघि, गत वर्ष नेपालमा भएको प्रतियोगिताको उपाधि बंगलादेशले जितेको थियो । उक्त संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई नै हराएको थियो ।