
पत्रपत्रमा प्रेम रसाई
शीतको कञ्चन मोती फुलोस्
सुस्तसुस्त यो भवसागरमा
एउटा कमल नयन खुलोस्
मेरो दृष्टि ब्रह्म बनोस्
भाव चिन्तनको सिन्धुभित्र
सत्य शब्द विन्दु मिलोस्
फुल्दै फुल्दै मानसपटलमा
जीवन मिठो दर्शन बनोस्
मेरो शब्द ब्रह्म बनोस्
प्रेमको कलकल अमृत जलमा
धारा गीतको अनन्त बगोस्
जति छन् वंशी त्रिभुवनभरिमा
स्वयम् सुरमा बज्न पुगोस्
मेरो नाद ब्रह्म बनोस्
मनको अँधेरी घरको ढोका
दिव्यज्योतिले ढकढक गरोस्
कणकणभित्र अहम् बसेको
पाषाण मन यो तरल बनोस्
मेरो जीवन ब्रह्म बनोस्
घोर असत्का दिवार बलिया
गिर्दै सारा माटो बनोस्
सत् कै वकालत होस् जीवन
यस धर्तीमा सत्य बचोस्
मेरो वाणी ब्रह्म बनोस्
जीवन धुनको भित्री तलामा
नयाँ तरंग आज उठोस्
फैलीफैली इन्द्रियहरूको
कसिलो घेरा तोडी छुटोस्
मेरो श्वास ब्रह्म बनोस् ।