
काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनावका बेला टर्कीले खुलारूपमा पाकिस्तानको समर्थन गरेपछि भारत र टर्कीबीचको कूटनीतिक द्वन्द्व राजनीति र व्यवसायसम्म पुगेको छ ।
भारतले आफ्ना नागरिकलाई टर्कीमा यात्रा बहिस्कार गर्ने सार्वजनिक आग्रह गर्नेदेखि टर्कीका व्यवसाय र विश्वविद्यालयहरूसँगको सम्बन्ध विच्छेद गर्नेसम्मका कदम सुरु गरेको बीबीसीले जनाएको छ ।
बिहीबारमा भारतले राष्ट्रिय सुरक्षा चासोको आडमा टर्कीको एयरपोर्ट व्यवस्थापन कम्पनी सेलेबीलाई देशका विमानस्थलमा सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ । तर, कम्पनीले टर्कीेको नभएको भन्दै भारतको यो आरोपलाई खारेज गरेको छ ।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालय, जामिया मिलिया इस्लामिया र मौलाना आजाद राष्ट्रिय उर्दू विश्वविद्यालयलगायत भारतीय विश्वविद्यालयहरूले पनि टर्कीका संस्थाहरूसँगको शैक्षिक सहकार्य रोकेका छन् ।
दिल्ली र मुम्बईजस्ता प्रमुख विमानस्थलहरूमा ग्राउन्ड ह्याण्डलिङ सेवा संचालन गर्ने सेलेबी कम्पनीलाई केन्द्रीय नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार औपचारिक रूपमा हटाइएको छ ।
भारतको नागरिक उड्डयन राज्यमन्त्रीले एक्समा पोष्ट गर्दै हालै देशभरबाट कम्पनीमा प्रतिबन्ध लगाउन माग गरिएको भनेका छन् ।
“यो निर्णय मुद्दाको गम्भीरता र राष्ट्रिय हित संरक्षणको आवश्यकतालाई मध्यनजर राख्दै हामीले लिएका छौँ । नागरिक उड्डयन मन्त्रालयले उक्त कम्पनीको सुरक्षा अनुमति रद्द गरेको छ,” मन्त्रीले भने ।
ब्लूमबर्ग अनलाइनको एक रिपोर्टअनुसार सेलेबीले भारत सरकारले लगाएको आरोपहरू खारेज गर्न र आदेश फिर्ता लिन कानुनी र प्रशासनिक सबै उपाय अवलम्बन गर्ने बताएको छ । कम्पनीले आफ्नो सुरक्षा अनुमति रद्द गर्ने निर्णय अन्यायपूर्ण भएको बताएको छ ।
“भारतमा विमानस्थल सञ्चालन र नागरिक उड्डयन यातायातमा हुनसक्ने ढिलाइ वा नकारात्मक प्रभावका लागि हाम्रो कम्पनी र सहायक संस्थाहरू जिम्मेवार छैनन्,” कम्पनीले ब्लूमबर्गलाई भनेको छ ।
भारतले पाकिस्तानमा हवाई आक्रमण गरेपछि गत हप्ता दुई देशबीच सैन्य द्वन्द्व सुरु भएको थियो । भारतले यो कदम कश्मीरको पहलगाम हमलाको प्रतिक्रियामा गरेको बताएको छ ।
पाकिस्तानले यस घटनासँग कुनै सम्बन्ध नरहेको बताएको छ । भारतीय सैन्य कारबाहीपछि टर्की र अजरबैजानले पाकिस्तानलाई तत्काल समर्थन गर्ने जनाए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)का नेता र केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले टर्कीलाई चेतावनी दिँदै विदेशमा पर्यटकको रूपमा जाने प्रत्येक भारतीयले आफूले मिहिनेतले कमाएको पैसा शत्रुहरूलाई सहयोग गर्ने देशहरूमा खर्च नगर्ने बताए ।
सामाजिक संजालमा बहिस्कारको मागले तत्काल प्रभाव देखाएको छ । यस हप्ता भारतीय यात्रासम्बन्धी वेबसाइटहरूले टर्की घुम्न जाने मानिसले धमाधम भ्रमण बुकिङ रद्द गरेका छन् ।
यात्रा वेबसाइट मेकमाइट्रिपका प्रवक्ताले भने, “गत हप्तादेखि भारतीय यात्रुहरूले अजरबैजान र टर्कीको बुकिङमा ६० प्रतिशत घटेको र क्यान्सेलेसन २५० प्रतिशतले बढेको छ ।”
सरकारी तथ्यांकअनुसार सन् २०२४ मा तीन लाख ३० हजार एम सय भारतीय नागरिकले टर्की भ्रमण गरेका थिए । यो संख्या सन् २०२३ को भन्दा दुई लाख ७४ हजारले बढी हो । अजरबैजानमा पनि गत वर्ष लगभग दुई लाख ४४ हजार भारतीय पुगेका थिए ।
यद्यपि, सन् २०२४ मा टर्कीमा भारतीय पर्यटकहरूको हिस्सा कुल विदेशी आगमनको एक प्रतिशतभन्दा कम थियो । यसले पर्यटनबाट हुने आयमा सीमित मात्र प्रभाव पार्ने देखिन्छ । तर, अजरबैजानमा भने भारतीयहरू कुल विदेशी पर्यटकको लगभग ९ प्रतिशत थिए । बीबीसी