-1747445987.jpg)
खुसी दराजमा राखेर साँचिने कुनै चिज होइन । यो न त सुनचाँदीको चमक हो न बजारको मूल्यसूचीमा सूचीकृत वस्तु । खुसी त एक अदृश्य कम्पन हो, हाम्रो भित्र कतै उत्पन्न हुने तर हाम्रो वरिपरि फिँजिने ।
कहिले यो मनको कुनामा बज्ने धुन हो, कहिले आँखाबाट बग्ने आँसु । कहिले यो आमाको माया जस्तै निःस्वार्थ प्रेमको झंकार हो । कहिले यो बुबाको आशीर्वादजस्तै आशाको उज्यालो किरण हो ।
कहिले कसैको हात समात्दा अनुभूति हुने एउटा मृदु स्पर्शको अनुभूति हो । यसले शब्दबिनै जीवनको अर्थ बुझेझैँ लाग्छ । यी सबैमा खुसीका किरणहरू प्रज्वलित भइरहेका हुन्छन् ।
खुसीलाई धेरैले लक्ष्यको रूपमा लिन्छन् – पाउनुपर्ने सफलता, भेट्नुपर्ने प्रियजन, पुग्नुपर्ने गन्तव्य, जित्नुपर्ने पुरस्कार आदि । तर, सायद उनीहरूले बुझ्न बाँकी छ – खुसी यात्रा हो, गन्तव्य होइन ।
पाउनुपर्ने सफलता आफ्नै जाँगरमा निर्भर हुन्छ । भेट्नुपर्ने प्रियजन आफ्नै बोली र व्यवहारमा आधारित हुन्छ । पुग्नुपर्ने गन्तव्य सधैँ धेरै टाढा नै रहिरहेको हुन्छ ।
कहिले बिहानको न्यानो घामसँगै ओछ्यानबाट उठ्ने बेलामा आउने एक हल्का मुस्कान हो खुसी । कहिले हावाको एक झोक्कामा उडेको पातजस्तै स्वतन्त्र, चञ्चल र अप्रत्याशित आउने प्रवाह हो खुसी ।
कहिले बालकको हाँसोमा भेटिन्छ खुसी, जसमा कुनै स्वार्थ हुँदैन – न योजना न कुनै सम्झौता । म बाँचिरहेको छु, त्यसैले म रमाइरहेको छु भन्ने यो अस्तित्वको स्वीकृति हो । त्यसैले खुसी जीवन्तजीवन्तको दर्पण पनि हो ।
खुसी कहिलेकाहीँ शब्द भएर लेखिन्छ प्रेमपत्रमा – डायरीका पानामा कवितामय भावुक भावना बनेर पोखिन्छ ।
कहिले यो चित्रकारको क्यानभासमा फैलिएको अनियन्त्रित रङजस्तै बनेर व्यक्तिन्छ, जसले केही भन्न खोजेको छैन – केवल केही महसुस गराउन चाहन्छ ।
कहिले यो हिउँमा नांगो पाइला चाल्ने हिम्मत हो । थथर्र मुटु काँप्दै भए पनि रोमाञ्चित खुसीको अनुभूति गराउने माध्यम हो ।
हामीले खुसीलाई बारम्बार मूल्यांकन गर्ने गर्यौँ । मैले के पाएको छु ? अरूभन्दा बढी कि कम ? तर, खुसी तुलना होइन, अनुभव हो । यसलाई कुनै वस्तुमा बाँध्न सकिन्न । यो सम्झौताले होइन, सरलताले जन्मिन्छ । यसले जीवनलाई यथारूप स्वीकार्छ, उसैमा रमाउँछ । खुसी जताततै छरिएको हुन्छ । तर, त्यसलाई हामीले आत्मसात् गरी खुसीलाई जीवनको उल्लासमा परिवर्तन गर्न सक्नुपर्छ ।
कहिले यो साथीको हाँसो हो । कहिले आमाको हातको ‘को खाई को खाई’ खाना हो । कहिले यो बाटो हो, जुन हामी हिँड्दै छौँ – त्यहाँ गन्तव्यभन्दा यात्रा रमाइलो हुन्छ ।
खुसी कुनै वस्तु होइन, यो उज्यालो प्रकाशपुञ्ज हो । श्रुतिमधुर ध्वनि हो । कहिले हृदयभित्र उज्यालो छर्ने । हावामा फैलिएर गुन्जिने, कहिले आँखाबाट बग्ने । हामी त्यसलाई सँगाल्न सक्दैनौँ, तर महसुस गर्न सक्छौँ । न त थाम्न सक्छौँ । तर, बाँड्न सक्छौँ । खुसीको सबैभन्दा ठूलो रहस्य यही हो, यो बाँड्दा झनै बढ्छ ।
खेतको पाटामा काम गरिरहेकी एउटी बुढीआमाको अनुहारमा पसिना मिसिएको मुस्कान देख्दा पनि खुुसी झल्किन्छ । उनीसँग गुनासो छैन, केवल माया छ । धैर्य छ । लाग्छ, त्यही धैर्यभित्र लुकेको आत्मसन्तोष नै हो साँचो खुसीको मूल स्रोत ।
कविको कलमले लेखिएको प्रेमिल कवितामा, चित्रकारको क्यानभासमा बगेका रङहरूमा, संगीतकारको तालमा बग्दै गरेको सुरहरूमा – यी सबैमा खुसीको आभास पाइन्छ । तर, ती सबै अनुभूतिहरू त्यति बेला मात्र सजीव हुन्छन्, जब हृदय खुला हुन्छ, मन सादा हुन्छ, अनि आँखामा सपना हुन्छ ।
एक दिन बिहान चाँडै ब्युँझिएर सूर्योदय हेर्ने हो भने, जब सुनौलो प्रकाशले हिउँ परेका हिमालहरू उज्यालो पार्छ, अनि वायुलाई रंगीन बनाउँछ – त्यो क्षणमा न त पैसा लाग्छ न कुनै उपलब्धि आवश्यक पर्छ । त्यो सजीव सौन्दर्य नै हो, जुनले भन्छ– खुसी आउला अनि मुस्कुराउँला ।
हामी हरेक दिन निस्कन्छौँ कुनै न कुनै सपना पूरा गर्नेतर्फ । तर, बीचबीचमा थोरै रोकिने, हेरिने, सुन्ने र अनुभव गर्ने अभ्यास भयो भने सायद खुसी हामीलाई खोज्दै आउनेछ । हाम्रा आँखा पनि फेरि बालकझैँ चम्किनेछन् । भक्कानिरहेका ओठहरू फेरि सजिलै मुस्कुराउनेछन् ।
मलाई लाग्छ, खुसी भनेको भावनाको एउटा उज्यालो ध्वनि हो । खुसीले नै स्वस्थ जीवन दिन्छ । आशा र मिठो विश्वास दिन्छ । भरोसासँगै भावी जीवनको मार्गदर्शन प्रदान गर्छ । दुःखी मानसिकतामा सोचाइले पाइतो सार्न सक्दैन । सिर्जनाले ऊर्जा उमार्न जान्दैन । सम्पूर्ण सुख, सन्तुष्टि, शान्तिका निम्ति खुसीकै उपस्थिति अनिवार्य हुन्छ ।
जीवन एउटा अदृश्य संगीत हो, जसका सुरहरूले हाम्रो अन्तर्मनमा लय भर्छ । ती सुरहरूमध्ये सबैभन्दा मिठो र उज्यालो ध्वनि भनेको खुसी हो । खुसीलाई देख्न सकिँदैन, तर महसुस गर्न सकिन्छ । यसरी बिहानको पहिलो घामले न्यानो बनाउँछ, जसरी सानी बच्चीको हाँसोले घरआँगनलाई उज्यालो पार्छ ।
खुसी कुनै वस्तु होइन, जुन किनेर थुपार्न सकियोस् । यो त भावनाको त्यो उज्यालो किरण हो, जुन मनको आकाशमा घामझैँ टल्किन्छ । कहिले अर्काको आँखामा चमक बनेर देखा पर्छ, कहिले आफ्नै छातीभित्र फिँजिएको उज्यालो बनेर अनुभव हुन्छ ।
कविको कलमले कविता रच्दा, चित्रकारको ब्रसले रङ मिसाउँदा, किसानले छरिएको बीउ अंकुराउँदा, आमाले आफ्ना छोराछोरीको निधार चुम्दा – यी सबै क्षणहरूमा खुसीको ध्वनि सुनिन्छ । ती ध्वनि कुनै बाजा होइन, त्यो आत्माको एउटा न्यानो स्पर्श हो – जुन हृदयले सुन्छ, तर कानले होइन । मस्तिष्कले महसुस गर्छ, मनले होइन ।
जीवनमा सबै कुरा मिल्दैन । कहिले अभाव र पीडामै घेरिएको हुन्छ समय । तर, यस्तो बेला पनि यदि हामीले आशाको एउटा ज्योति देख्यौँ भने त्यही आशा पनि खुसीको मिठासमा रूपान्तरित हुनसक्छ ।
साँच्चै खुसी कुनै गन्तव्य होइन, यो यात्रा हो अनुभूतिहरूको, सम्बन्धहरूको र स्वीकारोक्तिको । हामी जति बढी जीवनलाई अपनाउँछौँ, त्यति नै धेरै ती उज्याला ध्वनिहरू हाम्रो वरिपरि गुन्जन्छन् ।
कहिलेकाँही खुसी एक कप चिया पनि हुनसक्छ, जुन प्रियजनसँग साटिएको होस् । कहिले त्यो एउटा सानो चिठी हुन्छ, जसमा ‘म तिमीलाई सम्झिरहेछु’ लेखिएको हुन्छ । अनि, कहिले त्यो झरीको बेलामा ओताउने छाताको भित्री भागमा देखिने न्यानोपन पनि हुनसक्छ ।
वास्तवमा कुनै ठूला चिजहरूमा सीमित छैन खुसी । यो त हाम्रो दृष्टिकोणमा भर पर्छ । हामी कुन आँखाले संसार हेर्छौं, त्यो महत्त्वपूर्ण हुन्छ । कुनै बालकको अबोध मुस्कानमा पनि खुसीका ध्वनिहरू गुन्जिरहेका हुन्छन् ।
त्यसैले खुसीलाई कतै गएर खोज्ने होइन । दुःखलाई बिर्सेर खुसीलाई पाउन मरिहत्ते गरिरहनु पर्दैन । यो महसुस गर्ने कुरा हो । हाम्रो भित्रै कतै, भावनाको कुनै कुनामा उज्यालो बनेर खुसी चुपचाप बसेको हुन्छ । हामी मुस्कुराउँछौँ भने त्यहाँ खुसी बोल्छ । हामी कसैको पीडामा साथ दिन्छौँ भने त्यहाँ खुसी झल्किन्छ ।
अन्ततः खुसी भनेको भावनाको एउटा उज्यालो किरण र सुमधुर ध्वनि हो । यो हाम्रो जीवनमा रङ भरिदिने संगीत पनि हो । यो सधैँ हाम्रो भित्री आत्माबाट गुन्जिरहन्छ । साँच्चै जसरी वसन्त ऋतु फेरि फर्किन्छ, फूल फेरि फुल्छ – त्यसरी नै खुसी पनि फर्किन्छ । जीवनको कुनाकाप्चामा लुकेर बसेको त्यो उज्यालो निस्किन्छ । त्यहाँ खुसीका किरणहरू मायालु आभास बाँड्दै मनको हार्दिकपन पोखिरहेका छन् ।