site stats
बाह्रखरी :: Baahrakhari
विदेश
थाइल्यान्डमा भूकम्पले ढलेको भवन निर्माणसँग जोडिएका १७ जनाविरुद्ध पक्राउ आदेश

काठमाडौं । थाइल्यान्डको एक अदालतले गत मार्चमा गएको भूकम्पबाट राजधानी बैंककमा भत्किएको एक गगनचुम्बी भवन निर्माणसँग जोडिएका १७ जनालाई पक्राउ गर्न आदेश जारी गरेको छ ।

देशको लेखापरीक्षण कार्यालयको कार्यालय भवनको रूपमा निर्माणाधीन ३० तले टावर छिमेकी देश म्यानमार केन्द्रविन्दु भएर गएको ७.७ माग्निच्युडको भूकम्पले ढलेको थियो । सरकारी अधिकारीहरूले टावरको भग्नावशेषबाट ८९ जनाको शव निकालेका थिए । सातजना अझै बेपत्ता छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, गगनचुम्बी टावरको डिजाइन, निर्माण र भवन निरीक्षणसँग जोडिएका व्यक्तिका लागि प्रहरीले पक्राउ आदेश जारी गरेको हो ।

प्रहरीले अहिलेसम्म व्यवसायी प्रेमचाई करनासुको मात्र नाम सार्वजनिक गरेको छ, जो थाइल्यान्डको सबैभन्दा ठूलो निर्माण कम्पनीमध्ये एक इटालियन–थाई डेभलपमेन्ट पीएलसीको पूर्वअध्यक्ष हुन् ।

थाई अधिकारीहरूले अझै भवन ढल्नुको कारण सार्वजनिक गरेका छैनन् । तर, बिहीबार थाइल्यान्डको सञ्चारमाध्यमले भवनको लिफ्ट साफ्टमा संरचनात्मक कमजोरी पत्ता लगाएको लेखेका थिए ।

भूकम्पताकाका फुटेजमा बैंककका उच्च भवन हल्लिएको देखिन्छ । कम्पनका कारण छतको पुलबाट पानी तल सडकमा खसिरहेको देखिन्छ ।

यो भवन तीन वर्षदेखि निर्माणाधीन थियो । ढल्नुअघि यसको लागत दुई अर्ब थाई भाट (५९ मिलियन अमेरिकी डलर) पुगेको थियो ।

भवन ढल्दा ४०० भन्दा बढी कामदार त्यहाँ उपस्थित थिए । उद्धारकार्यमा ड्रोन, स्निफर कुकुर, क्रेन र एक्साभेटर ल्याइएको थियो ।

मार्च २८ मा म्यानमारमा आएको भूकम्पले तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । यस्तै, चारजार ५०० भन्दा बढी घाइते भएका थिए ।

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्