site stats
बाह्रखरी :: Baahrakhari
कला
‘के घर के डेरा : घर नं २’ आजबाट हलमा, चुनौती बन्नसक्छ ‘उनको स्वीटर’

काठमाडौं । फ्राइडे रिलिजमा आजबाट नेपाली चलचित्रमा ‘के घर के डेरा : घर नं २’ प्रदर्शनमा आएको छ । 

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो पाउँदै आजबाट प्रदर्शनमा आएको हो । मल्टी स्टारहरूको अभिनय रहेका चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारीलगायतको अभिनय छ । 

‘के घर के डेरा : घर नं २’को प्रिमियरमा १८० सर्वसाधारणलाई  चलचित्र देखाइएको थियो । प्रिमियरमा चलचित्र हेर्ने दर्शकले तारिफ गरेको निर्माणपक्षले जनाएको छ । 

त्यसैले शुक्रबारको पहिलो शो बाटै सिनेमाले राम्रो वर्ड अफ माउथ पाउनेमा निर्माणपक्ष ढुक्क छ । यदि, यो चलचित्रले राम्रो वर्ड अफ माउथ पाउन सकेन भने यसलाई ‘ऊनको स्वीटर’ले चुनौती दिन सक्छ । 

राम्रो व्यापार गरिरहेको ‘ऊनको स्वीटर’को भन्दा राम्रो वर्ड अफ माउथ ‘के घर के डेरा : घर नं २’ले पाएन भने यसको शो खोसिने सम्भावना हुन्छ । त्यसैले ‘के घर के डेरा : घर नं २’लाई राम्रो वर्ड अफ माउथ नपाउने सुविधा छैन । 

‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र, निश्चल, उपासना, आर्यन र केकीसँगै प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्