site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सगरमाथा आरोहण अनुमति पाएका विश्वप्रकाशले भने– अहिले नै चढ्न लागेको होइन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा चढ्ने योग्यता आफूसँग पुगिनसकेको बताएका छन् । ‘विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै’ भन्दै बिहीबार सार्वजनिक भएका समाचारका विषयमा टिप्पणी गर्दै महामन्त्री शर्माले आफूले लोबुचे हिमालको सफल आरोहण गरी सगरमाथा चढ्ने अनुमति पाए पनि योग्यता भने भइनसकेको उल्लेख गरेका छन् । उनले आफू हिँड्दा नै ‘यसपालि सेमिफाइनल’ भनेर हिँडेको भन्दै फाइनलमा प्रवेश मात्र गरेको उल्लेख गरेका छन् । 

“यसपालि (सेमिफाइनलसम्म) अर्थात् (सगरमाथा) बेसक्याम्पसम्म, भनेरै हिँडेको थिएँ काठमाडौंबाट, म पुगिसकेँ, सेमिफाइनल पूरा भएको छ,” शर्माले भनेका छन्, “अहिले म ‘फाइनल’ अर्थात् सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु,” उनले ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसकेपछि सगरमाथा चढ्न पाउने मापदण्डमा परेको र त्यही मापदण्डबमोजिमको अनुमतिपत्र पनि प्राप्त गरेको उल्लेख गर्दै अनुमति पाउनु र सगरमाथा चढन योग्य हुनु फरक विषय भएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“तर, मनले चाहँदैमा सगरमाथा चढिन्नँ, सगरमाथा आरोहण गर्न सोही अनुरुपको जरुरी प्रशिक्षण र समय चाहिन्छ, सामान्यतयाः आरोहीलाई ४२ दिनको प्याकेज बनाउने गरिन्छ र प्राय मे महिनाको २९ तारिख (जेठ १५/१६ तिर) अर्थात् ‘सगरमाथा दिवस’का दिन आरोहण प्राय क्लोज गरिन्छ (यद्यपि शिखरनजिक पुगेकाहरूले त्यसको केही दिनसम्म पनि आरोहण गर्न पाउँछन् नै),” शर्माले भनेका छन्, “म भर्खर केही दिनयता मात्र बेसक्याम्प पुगेको हुँदा, न समय पर्याप्त पुगेको छ, न मसँग सगरमाथा आरोहणका लागि जरुरी प्रशिक्षण छ ।” 

उनले आफू प्रशिक्षण भने लिँदै गरेको भन्दै उक्त प्रशिक्षणपछि आरोहणका लागि उपयोगी हुने उल्लेख गरेका छन् ।  “फाइनल भिड्नै परेका बेला त काम लाग्छ नै, अथवा लोबुचे हिमालभन्दा थोरै माथि पुग्न पनि त यो प्रशिक्षणले सघाउँला, हो त्यति चाहिँ हुनसक्छ,” शर्माले भनेका छन्, “अहिलेलाई यत्तिमात्र भनौँ– सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्नँ ।” 

उनले इच्छा लागेको कुरा पूरा हुन त्यस अनुरुपको योग्यता आवश्यक हुने बताए । “इच्छाएका कुरा हासिल गर्न सो बमोजिमको योग्यता पनि हुनुपर्छ, अहिलेनै मसँग त्यसका लागि पर्याप्त योग्यता छैन,” शर्माले भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्