
विराटनगर । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध र असहाय व्यक्तिहरूको नगद तथा गरगहना चोरी गर्दै आएको भारतीय महिलाको एक गिरोह विराटनगरमा पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सूचनाका आधारमा कटहरी गाउँपालिका–१, बुधहाटबाट तीनजना भारतीय महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको पूर्णिया जिल्ला घर भएकी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन् ।
बिहीबार दिउँसो सिटी सफारीमा बसेर विराटनगरबाट कटहरी जाँदै गर्दा शंकास्पद लागेर प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको साथमा तीन लाख रुपैयाँ भेटिएको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले कटहरी–४ का ७० वर्षीय नारायणप्रसाद काफ्लेको झोलाबाट चोरी गरेको स्वीकारेको प्रहरीले जनाएको छ । काफ्ले उपचारपछि सार्वजनिक गाडीमा घर फर्किंदै थिए ।
प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान थालेको छ ।