
पोखरा । मुलुक संघीय प्रणालीमा गएको १० वर्ष हुन लागे पनि सबै प्रदेशका निम्ति आधारभूत संरचनाकै अभाव छ । यतिसम्म कि प्रदेशहरूमा प्रदेशसभा भवन पनि छैन । त्यसो त संघीय संसद् नै दुई दशकयता भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ ।
गण्डकी प्रदेश सरकारले यही आवश्यकतालाई मध्यनजर गर्दै प्रदेशसभा भवनको निर्माणको तयारी गरेको छ । त्यसो त प्रदेशसभाको आफ्नै भवन बनाउने घोषणा पहिलो कार्यकालमा नै गरिएको थियो । निकै आकर्षक र कलात्मक बनाउने भनेर प्रदेशसभा भवनको डीपीआर पनि नगरिएको होइन । तर, आफ्नै बलबुतामा प्रदेशले भवन बनाउन नसक्ने देखिएपछि दोस्रो कार्यकालमा पुनः डीपीआर प्रक्रिया थालिएको थियो ।
गण्डकीमा प्रदेशसभाको बैठक प्रयोजनका निम्ति नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई ‘संसद् भवन’का रूपमा प्रयोग गरिँदै आइएको छ । एक कार्यकाल प्रयोग गरिसकिएको छ भने दोस्रो कार्यकाल पनि सोही भवनमा नै प्रदेशसभा बैठक बस्दै आएको छ ।
कोरोनाकालका केही महिना सामाजिक दूरी कायम गर्न भन्दै पोखरा सभागृहलाई पनि संसद् भवनका रूपमा प्रयोग गरिएको थियो । तर, हालसम्म गण्डकीको खास संसद् भवन त्यही प्रशिक्षण केन्द्रको पानी चुहिने भवन नै हो । अहिले पनि प्रदेशसभा भवन त्यही भवनमा नै बस्दै आएको छ ।
०७४ माघ ७ गते प्रदेशसभा सदस्यको शपथदेखि ०७९ भदौ ८ गतेसम्म प्रदेशसभाको पहिलो कार्यकाल चल्यो । यही पुरानो भवनले नै प्रदेशको नाम गण्डकी र राजधानी पोखरा पनि तोक्यो ।
०७९ पुस १४ गते दोस्रो कार्यकालका निम्ति पनि प्रदेशसभा सदस्यहरू चुनिएर आए । उनीहरूको शपथग्रहण गरेपछि रंगरोगन गरिएको सोही पानी चुहिने भवनमा नै अहिले पनि प्रदेशसभाको कामकारबाही चल्दै आएको छ ।
अहिलेको प्रदेश सभा भवन २०४९ सालमा निर्माण भएको हो । केही प्रिफ्याबका भवन निर्माण गरेर संसदीय दल र समितिको कार्यालय खडा गरिएको छ ।
अन्ततः हरेक वर्षका नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा रहँदै आएको गण्डकी प्रदेशसभा भवन निर्माणकार्य सात वर्षपछि बल्ल अगाडि बढेको छ ।नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रही प्रदेश सरकारसँग भोगाधिकार भएको एक सय १० रोपनीमध्ये सात रोपनी क्षेत्रफलमा नयाँ भवन बन्नेछ ।
भवन निर्माणको ठेक्का श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंले पाएको छ । सहरी विकास तथा भवन कार्यालय कास्कीले भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८६० रुपैयाँ लागत लाग्ने गरी माघ १८ मा निर्माण सम्झौता गरेको हो । अहिले निर्माणस्थलको सफाइको काम कम्पनीले थालनी गरेको प्रदेशसभा सचिवालयका एक अधिकारीले जानकारी दिए । सम्झौतापत्रअनुसार नयाँ भवन ३६ महिना (तीन वर्ष) भित्र निर्माण गरिसक्नुपर्नेछ ।
प्रदेशसभाको पहिलो कार्यकालमा सरकारले एक अर्ब ४१ करोड रुपैयाँको इस्टिमेट तयार गरेको थियो । प्रदेश सरकार एक्लैले त्यति ठूलो लगानी गर्न नसक्ने र संघ सरकारले पनि सहयोग नगर्ने भएपछि त्यतिबेला काम अघि बढ्न सकेको थिएन । यसपटक भ्याटसहित ४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरिएको थियो । ०८१ साउन २१ मा बोलपत्र आह्वान गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गरेको श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँ बानेश्वर काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।
२५ करोड रुपैयाँ खर्च गरेर पोखरा–३ नदीपुरस्थित हालकै भवनको पछाडिपट्टि सात रोपनी क्षेत्रफलमा नयाँ भवन बनाउन लागिएको हो ।
यो जग्गा प्रदेश संरचना आउनुअघि क्रिकेट मैदानका रूपमा प्रयोग हुँदै आएको थियो । प्रदेश राजधानीमा रहेको क्रिकेट खेल्ने जग्गा मासिएको भनेर केही विरोध नभएको पनि होइन । अहिले सोही जग्गामा भवन बनाउन लागिएको हो ।
जसका लागि निर्माण व्यवसायीले दुई करोड २१ लाख ९० हजार रुपैयाँ मोबिलाइजेसन रकम पनि लगिसकेको जनाइएको छ । सहरी विकास तथा भवन कार्यालय कास्कीअन्तर्गत सरकारले चालु आर्थिक वर्षमा प्रदेशसभा भवन निर्माणका लागि करिब नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सम्झौतामा उल्लेख भएअनुसार भवन तीन तलाको बन्नेछ । भुइँतलामा पाँचवटा संसदीय दलको बैठक कक्ष र पाँचवटा भीआईपी कार्यालय हुनेछन् । मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय यही तलामा हुनेछ । संसद् बैठक कक्ष पनि यही तलामा हुनेछ । जहाँ ७८ जना अटाउन सक्ने क्षमताको हल बन्नेछ ।
गण्डकी प्रदेशसभाको अहिलेको भवनमा एउटा मात्र हल छ । जहाँ मुस्किलले ६० जना प्रदेशसभा सदस्य अट्छन् । सांसदहरू बस्ने हलकै एक छेउमा सरकारी कर्मचारी र सरकारी निकायका अधिकारी बस्ने गरेका छन् ।
सांसदको कुर्सीपछाडि प्लास्टिक र आलमुनियम प्रयोग गरी अस्थायी बार बनाइएको छ । दर्शकदीर्घादेखि मिडियालाई सोही क्षेत्रमा बस्ने व्यवस्था गरिँदै आइएको छ ।
नयाँ बन्ने भवनमा भने ७८ जना अट्ने गरी च्याम्बर बन्नेछ । साथै पिजन होल, सामान्य र भीआईपी कक्ष, मार्सल अफिस, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो सोही तलामा रहनेछन् ।
दोस्रो तलामा ८० जना क्षमताको दर्शकदीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली रहनेछ । भुइँतला एक हजार ८४५ वर्ग मिटर र पहिलो तला एक हजार ४९६ वर्ग मिटरको क्षेत्रफलमा हुनेछ । भवनको डिजाइन एमएस स्केल आर्किटेक प्रालिले बनाएको हो ।
तेस्रो तलामा के–के राख्ने भन्ने तय भएको छैन । भवनमा दुईवटा लिफ्ट पनि हुनेछ । भवन बाहिरपट्टि चमेनागृह र पार्किङ बनाइने जनाइएको छ ।