-1747047883.jpg)
काठमाडौं । चिनियाँ बजारमा सार्वजनिक हुनुअघि नै ऐटो एम८ को चर्चा चुलिएको छ । हुवावे र सेरेसको संयुक्त उत्पादन क्रसओभर गाडी ऐटो एम८ ले एक लाख अर्डर प्राप्त गरेको हो । ऐटो एम८ मार्च ६ बाट चीनमा प्रिसेल सुरु गरिएको थियो ।
कम्पनीले पाँच हजार युआनले बुकिङ गरेपछि गाडी लिँदा १० हजार युआन छुट दिने योजना ल्याएको थियो । यस योजनाले उपभोक्ताको व्यापक ध्यान तानेपछि सुरु भएको पहिलो घण्टामै सात हजार ५०० अर्डर आएको थियो । यस्तै, १२ घण्टाभित्र यो संख्या २८ हजार युनिट पुगेको कम्पनीले जनाएको छ ।
अप्रिल ७ मा हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलाइन्स (एचआईएमए)ले ऐटो एम८ ले जम्मा ३२ दिनमा एक लाखभन्दा बढी अर्डर प्राप्त गरेको औपचारिक घोषणा गरेको थियो । छिटो अर्डर प्राप्त गर्नुले ऐतो एम८ लाई चीनको रेन्ज विस्तार विद्युतीय गाडी (ईआरइभी) बजारमा सबैभन्दा लोकप्रिय मोडेल बनाउने संकेत देखिएको छ ।
ऐटो एम८ डिजाइन र प्रविधिको दृष्टिकोणले ऐटो एम९ सरह छ । यसको लम्बाइ ५१९० मिलिमिटर, चौडाइ १९९९ मिलिमिटर, उचाइ १,७९५ मिलिमिटर र ह्विलबेस ३,१०५ मिलिमिटर रहेको कम्पनीले जनाएको छ । गाडीको छानोमा लिडार सेन्सर, अगाडिका ठूला एलईडी हेडलाइटजस्ता आकर्षक विशेषता छन् ।
गाडीभित्र दुई प्रकारको सिट व्यवस्था छ, दुई–दुई–दुई र दुई–तीन । क्याबिनमा ७५ इन्चको हुवावेको आगुमेन्टेड रियालिटी (एआर हेड–अप डिस्प्ले) र तीनवटा पर्दाको प्रयोग गरिएको छ । दुई मोटरयुक्त चारपाङ्ग्रे ड्राइभ प्रणालीसहित यसको अधिकतम शक्ति ३९२ किलोवाट (५२६ हर्सपावर) छ । यसमा १.५ लिटर क्षमताको टर्बोचार्ज्ड रेन्ज विस्तार इन्जिन जडान गरिएको छ ।
चिनियाँ परीक्षण मापदण्डअनुसार यसको रेन्ज क्रमशः २०१ किलोमिटर र ३१० किलोमिटर रहेको कम्पनीको दाबी छ ।
ऐटो ब्रान्ड हुवावे र सेरेसको सहकार्यमा स्थापना गरिएको हो । सेरेसले गाडीको निर्माण र च्यासिस डिजाइनको जिम्मेवारी लिएको छ । हुवावेले प्रविधि विकास, मुख्य उपकरण आपूर्ति र बिक्रीको काम गरिरहेको छ । अहिले ऐटो एम५, एम७ र एम९ गरी तीन मोडेल बजारमा छन् । सन् २०२४ मा ती मोडेलको बिक्री संख्या तीन लाख ८५ हजार ९०४ युनिट पुगेको थियो ।