site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाहोरमा भारतीय ड्रोन खसालेको पाकिस्तानको दाबी

काठमाडौं । पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो ।

उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ ।

यसैबीच, भारतले कश्मीरको सिमाना (नियन्त्रण रेखा)नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।

गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि दुवै देशबीच तनाव बढेको हो । त्यो हमलामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले आरोप अस्वीकार गरेको छ ।

स्थानीय मिडियाले पञ्जाब प्रदेशका अर्को सहरमा दुई अरू ड्रोन पनि खसालिएको जनाएको छ । दुई सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानको वायु सुरक्षा प्रणालीले एउटा सानो भारतीय ड्रोन झारेको हो । ड्रोनमा हतियार भए/नभएको स्पष्ट छैन ।

उक्त ड्रोन खसालेको घटनाको एक दिनअघि भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा महिला र बालबालिकासहित ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

ड्रोन खसालेको घटनाको स्वतन्त्र रूपमा पुष्टि नभएको र भारतीय अधिकारीले तुरुन्त प्रतिक्रिया नदिएको एपीले जनाएको छ ।

पञ्जाबको चकवाल जिल्लामा एउटा ड्रोन खेतमा ठोक्किएर खसेको थियो । त्यसबाट मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी प्रमुख गुलाम मोहिउद्दीनले उक्त ड्रोन कसको भन्ने उल्लेख गरेनन् । अधिकारीहरूले ड्रोनको अवशेष सुरक्षित रहेको र यसको उत्पत्ति र उद्देश्यका बारेमा अनुसन्धान गरिरहेको बताए ।

भारतले बुधबारको आक्रमण नौ आतंकवादी आधार क्षेत्रमा गरिएको दाबी गरेको छ । तीमध्येका केही स्थान पञ्जाब प्रदेशमा पर्छन् । र, हमलामा धेरैजसो मृत्यु यही प्रदेशमा भएको थियो ।

बढ्यो युद्धको डर
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले रातभरिको आक्रमण र हत्याको बदला लिने प्रतिज्ञा गरे पनि उनले कुनै विवरण दिएका छैनन् । यसले यी दुई परमाणु हरियारयुक्त छिमेकी देशबीच ठूलो युद्धको जोखिम बढाएको छ ।

भारत–नियन्त्रित कश्मीरको नियन्त्रण रेखा (एलओसी)नजिक बसोबास गर्ने हजारौँ मानिसले आश्रयस्थलमा रात बिताएका थिए । भारतीय अधिकारीले एलओसीनजिकै बसोबास गर्ने दर्जनौँ गाउँबाट नागरिकलाई रातभर खाली गराएका थिए । उरी र पुंछजस्ता सीमावर्ती क्षेत्रका केही बासिन्दाले आफ्नै इच्छाले घर खाली गरेका थिए ।

भारतीय विदेश मन्त्रालयका अनुसार, नियन्त्रण रेखा (सिमाना)मा अघिल्लो दिनको गोलाबारीमा १३ भारतीय नागरिकको मृत्यु भएको थियो । ५९ जना घाइते भएका थिए । बुधबारको गोलाबारीमा एक भारतीय सैनिक पनि मारिएका भारतीय सेनाले जनाएको छ ।

इरानी विदेशमन्त्रीले भारतीय अधिकारी भेट्ने
यसैबीच, इरानी विदेशमन्त्री अब्बास आराघची बुधबार राति भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । पहिले नै तय भएको यात्राका क्रममा उनी भारत आएका हुन् ।

उनले बिहीबार दिउँसो भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम छ । यी दुवै नेताले आर्थिक सहयोगको एक संयुक्त कार्यक्रमको सहअध्यक्षता गर्नेछन् ।

इरानले भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको छ । आराघची सोमबार यसै प्रयासअन्तर्गत पाकिस्तानका शीर्ष नेतासँग भेट्न पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro