
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को प्रिमियरमा निर्माण टिमलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको हो ।
चलचित्र हेरेपछि उपसभामुख इन्दिरा राना मगरले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताइन् । “मन जितेरमात्र प्रेम प्राप्त हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ,” उनले भनिन् ।
अभिनेता दयाहाङ राईले चलचित्रलाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
सांसद शोविता गौतमले चलचित्रको दृश्य, सामाजिक प्रसंग र कथावस्तु राम्रो रहेको बताइन् ।
अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गरिन् ।
अभिनेता विपीन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए । नायिका मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया दिइन् ।
निर्देशक नवीन चौहानले भने, “प्रतिक्रियाले मलाई न्यानोपन दिइरहेको छ । यी आत्मिक प्रतिक्रियाहरू शब्दमा व्यक्त गर्न गाह्रो छ ।”
प्रिमियरमा उपसभामुख राना मगरसँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत प्रिमियरमा उपस्थित थिए ।