site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अख्तियारले लग्यो आईपीओ निष्कासन अनुमति माग्ने कम्पनीका सबै फाइल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राथमिक सेयर (आईपीओ) निष्कासन स्वीकृतिका लागि आवेदन दिएका कम्पनीका फाइल लगेको छ । बिचौलियमार्फत कमिसन मागिएको भन्ने समाचार बाहिरिएपछि अख्तियारले बुधबार छापा मारेको थियो । सोही विषयमा छानबिन गर्न बुधबार बोर्डबाट कागजात ल्याइएको अख्तियारका एक उच्च अधिकारीले जानकारी दिए ।

बुधबार खुमलटारस्थित बोर्डको कार्यालयमा छापा मार्न अख्तियारको टोली पुगेको थियो । आयोगले बोर्डमा छापा मारेर आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको बारेमा सोधपुछ गरेको बोर्डका एक अधिकारीले बताए । तर, ती अधिकारीले भने फाइल नलगेको बताए ।

Argakhachi Cement Island Ad

"आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीले पेस गरेका कागजात ल्याइएको छ," अख्तियारका ती अधिकारीले भने, "अख्तियारले यस विषयमा अनुसन्धान गर्नेछ ।"

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिएर बिचौलियामार्फत पाँच–सात प्रतिशत कमिसन मागेको ऊर्जा व्यवसायीहरूले आरोप लगाएका छन् ।

४३ हाइड्रोपावरसहित ८९ कम्पनीले बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् । संसद्को सार्वजनिक लेखा समितिको निर्देशनपछि बोर्डले ९० रूपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ अनुमति दिएको छैन ।

ऊर्जा उत्पादकहरूले भने आईपीओबाट पुँजी जुटाउन नसक्दा आयोजना निर्माणमा असर परेको भन्दै आएका छन् । अर्थ र सार्वजनिक लेखा समितिमा समेत व्यवसायीहरूले हारगुहार गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्