site stats
बाह्रखरी :: Baahrakhari
कला
सौगात भन्छन्–  ‘जार’ कथामा मलाई नाटक बनाउने मन थियो 

काठमाडौं । अभिनेता सौगात मल्लले दुई दशकअघि नै आफूलाई ‘जार’ कथामा नाटक बनाएर अभिनय गर्ने रहर लागेको बताएका छन् । साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढेपछि उनलाई त्यसमा नाटक बनाउने रहर लागेको उनको भनाइ छ ।  

पछि ‘जार’ नाटक बन्यो । तर, त्यही समय चलचित्रको छायांकनमा रहेका कारण उनले अभिनय गर्न पाएनन् । हेरेर चित्त बुझाए । 

“म त्यो समयमा एउटा चलचित्रमा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ”, केही दिनअगाडि ललितपुरमा आयोजित एक कार्यक्रममा सौगातले भने, “त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भएँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि ‘जार’मा आफू खेल्न तयार रहेको उनले सुनाए । यद्यपि, मुख्य रोलका लागि नै अफर उनलाई अफर आयो । 

कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा बसेको उनी सुनाउँछन् । “मैले जब यो कथा पढेँ । मलाई यो कथाले यसरी तान्यो, म त्यसभित्रै डुबेँछु,” सौगात भन्छन्, “तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो ।” 

आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा सिनेमा बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दासोच्दै यो त मैले गरिसकेँ जस्तो लाग्ने गरेको उनको भनाइ छ । 

चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदै छ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् ।

चलचित्र ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । 

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । चलचित्रमा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्