
काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसेखण्ड यही वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले शनिबार (वैशाख २०) एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि ३१ गते राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन ‘आंशिक’ रूपमा रोकी निर्माण गरिने जनाएको छ ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।
आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्न समेत अनुरोध छ । साथै, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ ।” रासस