site stats
बाह्रखरी :: Baahrakhari
देश
शताब्दी उमेरमा जेपी क्रस

काठमाडौं । लेफ्टिनेन्ट कर्णेल जन फिलिप क्रस ओबीई (जेपी क्रस) १०० वर्षको जीवनकालमा पुगेका छन् । उनी ब्रिगेड अफ गोर्खाज्को इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिस अधिकारीमध्ये एक हुन् ।

कास्कीको पोखरास्थित ब्रिटिस गोर्खाज् नेपाल क्याम्पमा उनको १००औँ जन्मदिन मनाइएको छ । उनले करिब ४० वर्ष ब्रिटिस गोर्खाज्मा सेवा गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अवकाशपछि उनी विगत ४९ वर्षयता नेपालमा बस्दै आएका छन् । पछिल्ला वर्षहरूमा उनी नेपाली नागरिकका रूपमा रहेका ब्रिटिस गोर्खाज् नेपालले जनाएको छ ।

उनी आफूलाई ‘बेलायतमा जन्मेको नेपाली’ भन्न रुचाउँछन् । यी अवकाशप्राप्त अधिकारी ८० वर्षअघि पहिलोपल्ट नेपाल आएका थिए । त्यति बेला २१ वर्षको उमेरमा ब्रिटिस सेनाका साथ आफू नेपाल आएको उनी स्मरण गर्छन् ।

उनले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ पुस्तक लेखेका छन् । र, आफ्ना टिप्पणी एवं संस्मरणमा सधैँ गोर्खालाई उच्च सम्मानमा राखेका ब्रिटिस गोर्खाज् नेपालले जनाएको छ ।

“नेपाल, यहाँका मानिस र गोर्खालीहरूप्रति उनको लगावले नेपाल र गोर्खा समुदायमा उनको नामलाई स्थायी बनाएको छ भने उनको कृतिहरूमा व्यक्त गरिएको ज्ञानले सैन्य संसारमा राम्रो पहिचान कमाएको छ,” ब्रिटिस गोर्खाज् नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनको १००औँ जन्मदिन कार्यक्रममा ब्रिटिस गोर्खाज् नेपालका कमान्डर कर्णेल ड्यान रेक्स एमभीओले भने, “जेपी साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफूलाई यस अवसरसँग सम्बन्धित गराइरहेका छन् ।”

एक अधिकारी र लेखकका रूपमा आफ्नो विशिष्ट उपलब्धिबाहेक उनी जंगल युद्ध र प्रतिविद्रोहका विशेषज्ञका रूपमा चिनिन्छन् । उनले सैन्यकालमा बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, नेपाललगायत देशमा सेवा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्