
काठमाडौं । अस्ट्रेलियामा आम चुनावको मतदान सुरु भएको छ । अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पिटर डटनबीच प्रतिस्पर्धा छ ।
एन्थोनी अल्बानिज लेबर पार्टीका हुन् । उनी सन् २०२२ देखि प्रधानमन्त्री छन् । उनी लगभग ३० वर्षदेखि सांसद छन् ।
सत्तामा आएपछि एन्थोनी अल्बानिज लोकप्रिय भएका छन् । तर, पछिल्लो समय आवास, आदिवासी मामिला, यहुदी विरोधी र इस्लामोफोबियाजस्ता मुद्दाहरूमा दबाबको सामना गर्नु परेको छ ।
प्रधानमन्त्री पदका लागि अर्का उमेदवार कन्जरभेटिभ लिबरल–नेशनल गठबन्धनका नेता पिटर डटन हुन् । विपक्षी दलको नेताको रूपमा यो उनको पहिलो चुनाव हो ।
पिटर डटनले यसअघि रक्षा र गृह मामिलालगायत प्रमुख मन्त्रालय सम्हालेका छन् । तर, सामाजिक मुद्दाहरूमा उनका टिप्पणीहरू विवादास्पद हुने गरेका छन् ।
अस्ट्रेलियामा प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको निर्वाचन हुँदैन । निर्वाचित सांसदहरूले प्रधानमन्त्री चुन्छन् । सदनमा सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । बीबीसी