site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलका निम्ति जासुसी गरेको अभियोगमा इरानमा एक व्यक्तिलाई मृत्युदण्ड
प्रतीकात्मक तस्बिर : एपी ।

तेहरान । इरानको न्यायपालिकाले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा दोषी ठहर एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिइएको जनाएको छ ।

“यहुदी शासन (इजरायल)का निम्ति गुप्तचरका रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,” इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लगाइएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनलाई इरानी सरकारको आलोचना गर्ने लन्डनस्थित फारसी भाषाको टीभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो । इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ ।

सन् २०२२ मा हिरासतमा महसा अमिनीको मृत्युपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई ‘आतंकवादी संगठन’का रूपमा वर्णन गरेका थिए ।

इरानी कुर्दिश युवती अमिनीलाई इस्लामिक गणतन्त्रको कडा ‘ड्रेस कोड’ उल्लंघनको आरोपमा पक्राउ गरिएको थियो ।

इरानले विशेष गरी उसको कट्टर शत्रु इजरायलसँग काम गर्ने विदेशी गुप्तचर निकायसित संलग्न देखिएका वा आरोपित व्यक्तिहरूलाई पक्राउ गरी राष्ट्रघातको आरोपमा वर्षौं जेल र मृत्युदण्डको घोषणा गर्ने गरेको छ ।

आइतबार अधिकारीहरूले यस्ता कारबाहीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका थिए । सोही दिन न्यायपालिकाले मोसादको एजेन्ट भएको आरोपमा दोषी ठहरिएका माजिद मोसायेबीलाई मृत्युदण्ड दिने घोषणा गरेको थियो ।

न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले सरकारी टेलिभिजनसँग भने, “सुरक्षासँग सम्बन्धित मुद्दा, विशेष गरी इजरायललाई समर्थन गर्ने र शत्रुको पाँचौँ स्तम्भका रूपमा काम गर्ने मुद्दालाई अझ छिटो समाधान गरिनेछ ।”

एम्नेस्टी इन्टरनेसनललगायत मानवअधिकारवादी समूहका अनुसार, इरानमा विश्वकै धेरै संख्यामा मृत्युदण्ड दिइन्छ । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्