site stats
बाह्रखरी :: Baahrakhari
देश
'पेस्तोल पड्काएको' भाइरल बनेपछि बबीसिंह भन्छिन्– रमाइलो गर्ने अधिकार पुरुषको मात्रै हो ?

काठमाडौं । पेस्तोल पड्काउँदै नाचेको आरोप लागेपछि जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेत्री बबीसिंह यादवले स्पष्टीकरण दिएकी छन् । भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नेत्री यादवले बिहीबार सामाजिक सञ्जालमार्फत वैवाहिक कार्यक्रममा खेलौनाले गरेको फायरलाई लिएर भ्रम फैलाइएको दाबी गरेकी छन् ।

"वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरूको मात्रै हो ? महिलाले एकछिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेकोजस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु," यादवले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, भाइरल भिडियो भारतको सीमावर्ती सहर सीतामढीमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बेला गरिएको मनोरञ्जनको हो ।

"मेरो मामाकी छोरी (बहिनी)को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आगनमा आफ्ना भाइबहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोई’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाइदिनुहुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु," यादवले भनेकी छन् ।

नेत्री यादवले रमाइलो गर्दा खिचिएको भिडियोलाई सन्दर्भ र अनुमतिबिनै सामाजिक सञ्जालमा प्रस्तुत गरिएकोप्रति आपत्ति पनि जनाएकी छन् ।

भिडियोबारे प्रहरीले सोधपुछ गर्ने भएको छ । सप्तरीका प्रहरी प्रमुख एवं एसपी ढकेन्द्र खतिवडाले यादवलाई सोधपुछका निम्ति बोलाइएको जानकारी दिए ।

एसपी खतिवडाले बाह्रखरीसित भने, ‘‘हामीले सोधपुछका लागि बोलाएका छौँ । के कसो हो बुझेपछि थाहा हुन्छ । पेस्तोल पनि कुन प्रकृतिको हो हामी बुझ्दै छौँ ।’’

यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा हुन् । बुधबार (वैशाख १८) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्