site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको गुनासो– मेरो चरित्रहत्या गरियो
सरोज गुरागाईं । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरका विषयमा मुख खोलेका छन् । पछिल्लो समय आफूमाथि विभिन्न आरोप र टीकाटिप्पणी गरिएकाले यसबारे बोल्न बाध्य भएको उनले बताए ।

केही सञ्चारकर्मीसँग उनले काठमाडौं टावरको नक्सापासका विषयमा आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो । मैले नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रस्टसँग त्यही उल्लेख गरेको छु,”  गुरागाईंले भने, “म फेरि पनि भन्छु– मैले पहिलाका निर्णयलाई निरन्तरता मात्रै दिएको हो । त्यसमा मेरो दोष छैन ।”

उनले अगाडि भने, “सम्बन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानुन र प्रक्रियामा दोषी प्रमाणित गर्‍यो भने म कारबाही भोग्न तयार छु । तर, अहिले जुन ढंगबाट लाञ्छना लगाउने काम भएको छ, त्यो गलत छ ।”

गुरागाईंले महानगरको बजेट रोकिन नहुनेमा जोड दिए । “म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर साब तथा उपमेयरज्यू र जनप्रतिनिधिका निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु,” उनले भने, “तर, अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ, त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने लाग्छ । कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्नेबितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ।” 

उनले आफू नरहेका बेला पनि लामो समयदेखि महानगरको बैठक नबसेको उल्लेख गरे । “व्यक्ति तोकेर तँ भ्रष्टाचारी हो भनेर त्यसरी तोक्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,” उनले भने, “त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ । यदि, तपाईंलाई कसैले बिनाप्रमाण चरित्रहत्या गर्छ भने त्यसलाई ठिक भन्न सक्नुहुन्छ ?”

उनले अगाडि भने, “मैले अहिलेसम्म मेयर साबका बारेमा केही पनि भनेको छैन नि । अनि, मेयरको सचिवालयको हवला दिँदै मलाई आरोप लगाउने कुरा कसरी ठिक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ! आधिकारिक निकाय हुन्छ होला । उसले मेरो बारेमा छानबिन गरिरहेको होला नि, होइन ?”  

पटक–पटक आफूमाथि प्रहार गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्