
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षक आन्दोलनमा प्रहरी दमन भएको भन्दै विरोध जनाएका छन् । उनले यसअघिदेखि शिक्षकका माग सम्बोधन गरी विद्यालय पठाउनुपर्ने बताउँदै आएका थिए । सरकारले दमन गरेर कुशासनको अर्को नमुना देखाएको कोइरालाको टिप्पणी छ ।
“शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भयो । पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,” डा. कोइरालाले भनेका छन्, “यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो ।”
उनले शिक्षकका माग सम्बोधनमा धेरै ढिला भएको भन्दै तत्काल समस्या समाधानको पहलका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । “एक–दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भनेका छन् ।