site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...अनि तनावपूर्ण बन्यो शिक्षकको शान्तिपूर्ण आन्दोलन 

काठमाडौं । शिक्षकको सडक आन्दोलन २६औँ दिनमा उग्र बन्यो । आइतबार (वैशाख १४) प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गर्नुपर्ने अवस्था आयो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा छन् । अरू दिनजस्तै आइतबार पनि उनीहरू नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेका थिए ।

बिहान ११ देखि दिउँसो २ बजेसम्मको प्रदर्शन केही बेर भाँडियो । पछि आन्दोलन पुनः सामान्य बन्यो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता अपीलराज बोहोराका अनुसार, शिक्षकले निषेधित क्षेत्रमा प्रवेश र प्रहरीको ‘ब्यारिकेड’ तोड्न खोजेका थिए । शिक्षकले प्रहरीमाथि ढुंगामुढा पनि गरे ।

“शिक्षकहरूले प्रहरीको ब्यारिकेड तोडेपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको हो । शिक्षकहरूले घुसपैठ भएको भन्नुभएको छ । हामीले एकजनालाई नियन्त्रणमा लिएका छौँ । उहाँले आफू शिक्षक रहेको बताउनुभएको छ,” उनले बाह्रखरीसित भने, “घुसपैठ भएको हो वा के हो भनेर ती व्यक्तिमाथि अनुसन्धान गरिरहेका छौँ ।”

नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, शिक्षक र प्रहरीबीचको झडपमा ६० शिक्षक घाइते भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

“म अस्पतालमा छु । हाम्रा ६० जना शिक्षक साथी घाइते भएका छन् । राज्यले नियोजित रूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गर्‍यो,” उनले भनिन्, “सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुंगा प्रहार गर्‍यो । त्यसपछि माहोल बिथोलियो ।”

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि आन्दोलनमा घुसपैठ भएको जिकिर गरे । “हामी शिक्षक हौँ, लाठी छैन, केही छैन । यस्तो शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठ गराएर नांगोपना उदांगो भयो,” उनले भने, “सरकारले नांगो रूप देखायो । भोलि देशभरबाट थप शिक्षक आउनेछन् ।”

अस्पतालमा शिक्षकको सहज उपचार व्यवस्थापन भएपछि महासंघको आकस्मिक बैठक बस्ने पराजुलीले बताइन् । “आकस्मिक बैठकमा आजको आन्दोलनबारे समीक्षा हुन्छ,” उनले भनिन्, “राज्यले आफ्ना मान्छे प्रयोग गरेर शिक्षक आन्दोलन बिथोल्ने प्रयास गरेको छ । तर, शिक्षकहरू पछाडि हट्दैनन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro