काठमाडौं । लव खत्री नेपाली फुटबल जगतमा नाम चलेका रेफ्री हुन् । फिफा रेफ्री लव अब भने मैदानमा देखिनेछैनन् । उनले आइतबार नवौं फागुनन्द गोल्डकपको फाइनल खेल खेलाएसँगै रेफ्रीबाट सदाका लागि बिदा लिए । फुटबल दुनियाँमा लव खत्री खेलाडी हुँदै फिफा रेफ्रीसम्म पुगेका थिए ।
नेपाली खेलकुद जगत भरखर बामे सर्दै गर्दा लवले फुटबलमा पाइला टेके, जुन पाइला २८ वर्षपछि रोकिएको छ । हुन त उनको अवरत पाइलाहरु निरन्तर अघि बढे पनि खेलाडी र रेफ्रिको रुपमा उनी अब कहिल्यै मैदान छिर्ने छैनन् ।
उनी भन्छन्, “म फिट नै थिएँ । नयाँ पिँढीलाई पनि मौका दिनुपर्छ । तर एन्फाले मेरो लाइसेन्स किन नवीकरण गरेन, त्यो मलाई थाहा भएन । केही दिनअघि भुटानमा जाँदा पनि राम्रै फिटनेस गरेको थिएँ ।”
खेलाडी हुँदै रेफ्रीमा प्रवेश गरेका लवको अबको यात्रा के होला ? फुटबलकै कुनै रोलमा अब फेरि उनलाई देखिएला ? त्यो त समयले बताउनेछ । तर आफ्नो सन्यासबारे लव खत्री यसो भन्छन्, “एन्फाले चाहेमा मलाई इन्स्ट्रक्टर वा अरु केही बनाउन सक्छ । पहिले मैले फुटबल खेलें, फुटबलपछि रेफ्री बन्दा शून्यबाट थालेको थिएँ । रेफ्री सकेर अब इन्स्ट्रक्टर बन्नलाई शून्यबाट नै थाल्नुपर्ने हुन्छ ।
उनले अघि थपे, “अब यो मौका मलाई एन्फाले दिन्छ, दिँदैन उसको हातको कुरा हो । आफैंले पनि सन्यास लिन चाहिरहेको अवस्थामा लिन पाएँ, खुशी नै छु ।”
४६ वर्षीय लवले धेरै क्लबबाट निकै फुटबल खेले, कैयौं सिटी फुके । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलहरू खेलाए । बल, कार्ड, सिठी, फ्लाग र घडी बोकेर दुई देश अथवा दुई क्लबबीचको खेल खेलाउन मैदानमा प्रवेश गर्ने गरेका लवले नखेलाएको घरेलु प्रतियोगिता सायदै छैन ।
खेलाडी जीवन
उनको रेफ्री यात्रा भने खेलाडीबाट सुरु भएको थियो । लव खत्रीले २०४६ सालदेखि व्यावसायिक फुटबल खेल्न थाले । उनले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन पनि गरे । त्यसैले त उनले नेपालका थुप्रै क्लबबाट खेल्ने मौका पाए ।
करिब एक दशक व्यावसायिक फुटबल खेलेका लव २०५६ सालमा नसोचेको घटनामा परे, जसले गर्दा उनले आफ्नो खेलाडी करियरबाटै बिदा लिनुपर्ने बाध्यता बन्यो । फुटबल खेल्दै गर्दा आँखाअघि देखिने ती सपनाहरु रामछायाँ हुँदै एकाएक टाढा भए ।
लव भन्छन्, “सन् १९९७ मा सिलगुढीमा लिग खेलिरहेको थिएँ । देशबन्धु क्लबबाट सिलिगुढी लिग खेल्दै गर्दा लिग सकिन लागेको थियो । त्यहीबेला मेरो देब्रे खुट्टामा ठूलै समस्या देखियो । खुट्टाको समस्याले गर्दा मैले खेलाडी जीवनबाट बिदा लिएँ । ठूलै अप्रेशन गर्नुपर्ने अवस्था आएको थियो । हल्का दौडिन मिल्ने भएपछि रेफ्री गरौं भन्ने हिसाबमा अघि बढें ।”
हुन त उनीसँग खेलाडीको रुपमा नेपालका बलियो क्लबबाट व्यावसायिक फुटबल खेलेको अनगिन्ती अनुभव छ । घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेकै कारण उनले देशबाहिरको प्रतियोगिता पनि खेल्ने मौका पाएका थिए । फ्रेन्ड्स क्लब, जाउलाखेल, ब्वाइज क्लब, थ्रीस्टारलगायत धेरै क्लबबाट व्यावसायिक फुटबल खेलेका उनले इन्जुरीकै कारण खेलाडी जीवन अन्त्य गरे ।
“त्यो इन्जुरी मेरो लागि दुःखको क्षणभन्दा पनि यो लेभलसम्म पुर्याउन सुखद क्षण पनि थियो । म फुटबल खेलिरहेको भए ३–४ वर्ष फुटबल खेल्थे होला । तर, रेफ्री गर्ने थिइनँ सायद । रेफ्रीले मलाई यो उचाइमा पुर्यायो । यो मौका खेलाडी हुँदा पाउने थिइन होला ।”
१८ वर्षे रेफ्री यात्रा
सन् २००० बाट रेफ्रीको रुपमा उनी फुटबलमा आबद्ध भए । फुटबलमै खेलाडीको रुपमा जीवन बिताउँछु भन्ने एक समय सपना देखेका लव फुटबलबाट टाढा हुन नसकेपछि विकल्पका रुपमा रेफ्रीमा आबद्ध हँुदै कैयौ खेलहरू खेलाए । उनले आफू इन्जुरी हुनुभन्दा पहिले कहिले पनि सोचका थिएनन् आफू कुशल रेफ्री बन्ने । तर उनी बने ।
सन् २००७ सम्म राष्ट्रिय रेफ्रीको रुपमा प्रतियोगिता सञ्चालन गरेका लव २००८ मा नै फिफा रेफ्री बने । फिफा रेफ्री बनेसँगै उनीमाथि जिम्मेवारी बढेको थियो । घरेलु खेलहरू खेलाउने लव अब अन्तर्राष्ट्रिय खेल खेलाउने भए । यो सबै उनको कडा परिश्रमको फल थियो ।
फिफा रेफ्री भएको १ वर्षपछि सन् २००९ देखि नै उनले अन्तर्राष्ट्रिय खेल खेलाउन थाले । उनले खेलाएको अन्तिम अन्तर्राष्ट्रिय खेल केही दिन अघिमात्रै भुटानमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिप हो । उनले यो प्रतियोगिताका खेलहरू खेलाएका थिए । संयोग नै मान्नुपर्छ, नेपालले साफ यु–१८ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको थियो ।
रेफ्रीकै दौरानमा उनले थुप्रै अन्तर्राष्ट्रिय खेल खेलाए । सन् २००९ मा काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कपअन्तर्गत श्रीलंका र पाकिस्तानबीचको खेल खेलाउँदै रेफ्रीको रुपमा डेब्यु गरेका थिए । भारतको बहुचर्चित ११४ औं आईएफए शिल्डको फाइनल खेल पनि सञ्चालन गरेका थिए उनले ।
सन् २०११ मा काठमाडौंमा सम्पन्न नेपाल र भुटानबीचको खेल खेलाएका लवले २०१३ मा काठमाडौंमा भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल पनि खेलाए । भुटानको बहुचर्चित किंग्स कपको सन् २०१३ र २०१४ को संस्करण पनि खेलाएका थिए । २०१६ मा भारत र प्यालेस्टाइनबीचको मैत्रीपूर्ण खेल खेलाएका उनले साउथ एसियन गेम्समा पनि आफ्नो भूमिका निर्वाह गरे ।
रेफ्रीको निर्णय खेलाडी तथा प्रशिक्षकलाई अमान्य हुन सक्छ । सेकेण्डमै निर्णय गर्नुपर्ने हुँदा रेफ्री पेशा त्यसै पनि कठिन हो । अहिलेसम्म लव भने विवादस्पद निर्णयमा फसेका छैनन् ।
“मैले खेलाएको खेलमा विवादास्पद कार्यहरू भएको छैन । मलाई भाग्यले साथ दिएको हुनुपर्छ । रेफ्री भनेको एउटा अब्जसी काम हो । यसलाई निभाउन निकै कठिन हुन्छ । आफूसित सहनशिलता र सभ्य हुने साहस हुनुपर्छ । मलाई अहिलेसम्म सहयोग गर्नुहुने सबै टिम, खेलाडी, पदाधिकारी, प्रत्यक्ष र अप्रत्क्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले भने । उनी थप्छन्, “मैदानमा तटस्थ भएर निर्णय गर्नुपर्ने हुन्छ । कसैलाई अलि रुखो बोल्नुपर्ने हुन्छ, कसैलाई हाँसी–हाँसी कार्ड दिनुपर्ने हुन्छ । त्यो खेलको दौरानमा अवस्था अनुसार हुन्छ ।”
उनीसँग तीतासँगै मिठा क्षण पनि छन् । आफ्नो रेफ्री करियरमा खेलाडीलाई अनुशासनमा राख्न सबै खेलहरूमा उनले कार्ड दिएका छन् । तर उनीसँग घरेलु प्रतियोगितामा एउटा यस्तो संयोग भएको छ, केही दिनअघि सम्पन्न आर्मी र मनाङबीचको खेलमा उनले कार्ड नै दिनु परेन । उनले सम्झिरहने क्षण पनि त्यही हो ।
लव भन्छन्, “मैले सम्झिरहने खेल भनेको काँकडभिट्टा गोल्ड कपको फाइनल खेलमा आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल हो । यो खेलमा एउटा पनि पहेँलो कार्ड निकाल्नु परेन । दुबै टिमले एकदमै राम्रो खेल खेलेका थिए ।”
तस्बिर : लव खत्रीको फेसबुक