
काठमाडौं । भारतले अत्यन्तै शक्तिशाली लेजर हतियारको सफल परीक्षण गरेको छ । यो हतियार साना क्षेप्यास्त्र, हेलिकोप्टर र ड्रोन खसाल्न सक्षम छ ।
भारतको रक्षा अनुसन्धान विकास संगठन (डीआरडीओ)ले आइतबार आन्ध्र प्रदेशको कुरनूलमा यसको परीक्षण गरिएको जनाएको छ ।
उक्त परीक्षणमा साढे तीन किलोमिटर उचाइमा उडिरहेको ‘फिक्स्ड विङ ड्रोन’लाई ट्रकमा जडान गरिएको ३० किलोवाटको लेजर ‘बिम’ प्रयोग गरेर खसालिएको थियो ।
डीआरडीओले यो हतियारको नाम एमके २ राखेको छ । डीआरडीओले उक्त परीक्षणको भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा ड्रोन उडेको, त्यसपछि लेजर हतियारले निसाना बनाइएको र जमिनमा खसेको देखाइएको छ ।
लेजर निर्देशित ऊर्जा हतियार के हो ?
यो हतियारमा लेजरबाट उत्सर्जित किरणको शक्ति एक विन्दुमा केन्द्रित गरिन्छ । यसबाट त्यसले केही क्षणमै आफ्नो निसाना जलाएर खरानी बनाउँछ ।
लेजर हतियार उडिरहेको हेलिकोप्टर, ड्रोनहरू र राडार नष्ट गर्न प्रयोग गरिन्छ । यसलाई सवारीसाधन, समुद्री जहाज र लडाकु विमानमा पनि जडान गर्न सकिन्छ । यसलाई सञ्चालन गर्न अत्याधुनिक प्रविधि आवश्यक हुन्छ । यो धेरै परीक्षणपछि प्राप्त हुन्छ ।
यसलाई ‘भविष्यको हतियार’ भनिएको छ । यो परीक्षणपछि भारत सबैभन्दा आधुनिक लेजर हतियार भएका चीन, अमेरिका र रुसजस्ता देशको श्रेणीमा सामेल भएको भारतीय अधिकारीहरूको भनाइ छ ।
डीआरडीओ प्रमुख समीर वी कामतले आइतबारको परीक्षण यो प्रविधिको प्रदर्शन मात्र भएको समाचार एजेन्सी एएनआईलाई बताएका छन् ।
उनले भने, “डीआरडीओले अब अरू संस्थासँग मिलेर अझ शक्तिशाली र प्रभावकारी लेजर हतियार विकास गर्नेछ ।”
उनले अगाडि भने, “हामी यो हतियारलाई लडाकु विमान र समुद्री जहाजमा जडान गर्न सानो आकारमा बनाउने काम गरिरहेका छौँ ।” बीबीसी हिन्दीबाट ।