site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री पौडेल भन्छन्– ६ प्रतिशत आर्थिक वृद्धि हुने बजेट आएको छ, कार्यान्वयन हुन्छ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् । 

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रतिक्रिया आएकाले कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास व्यक्त गरे । 

७.५ प्रतिशतको आर्थिक वृद्धिदर भएको इतिहास रहेकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भवन रहेको उनको भनाइ छ । 

Argakhachi Cement Island Ad

“बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ । सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ,” अर्थमन्त्री पौडेलले भने, “राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइनेछैन ।” 

अर्थमन्त्री पौडेलले लक्ष्यअनुसारको राजश्व संकलनका लागि थोरै मिहिनेत गर्न आवश्यक रहेको बताए । उनले  भने,  “काम नगरेको अवस्थामा हासिल गर्न सकिँदैन । काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ ।” 

उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाव गरेर बस्नेभन्दा पनि साँवाब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरी बजेट आएको बताए । स्रोतको विषयमा चिन्ता नगर्न सबैलाई अर्थमन्त्रीले आग्रह गरे । 

अर्थमन्त्री पौडेलले आर्थिक विज्ञहरुबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको बताए । खर्च गर्नु पर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैँमा नमिल्दो रहेको उनको भनाइ छ ।

स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए । अर्थमन्त्री पौडेलले साना–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा बजेटले त्यसलाई समाधान गरेको बताए । 

उनले स्रोतलाई दुरुपयोग गर्न दिन नहुने बताए । खुद्रा योजनामा बजेट होसियार रहेको उनको भनाइ छ ।
 
गत आर्थिक वर्षको र चालु आवको आर्थिक वृद्धिदर र मुद्रास्फितिलाई लिएर आधार बनाएको उनले बताए । 

सरकारले गर्नुपर्ने काम सबै गर्छ भन्ने बजेटले निजी क्षेत्रलाई सन्देश दिएको उनले बताए । निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको अवस्था रहेको उनले उल्लेख गरे ।
 
अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुलाई सशक्त रुपमा पहल गरेको दाबी थियो । उनले  सरकार निजी क्षेत्रलाई अघि बढाउनका लागि सधैँ तयार रहेको बताए । 

निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको उनको दाबी छ । 

ऐन तथा कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार रहेको उनको भनाइ छ । 

उनले आयोजना निर्धारित समयमा बन्नु पर्ने सरकारको मुख्य उद्देश्य रहेकाले त्यसका लागि सरकारले गर्नुपर्ने सबै सहजिकरण गर्न तयार रहेको बताए । 

उनले डिजिटल बैंकिङमा जान आवश्यक पर्ने पूर्वाधार निर्माण गरिने बताए । उनले त्यसमा राष्ट्र बैंक र सरकारले समन्वय गरेर काम गर्ने उल्लेख गरे । 

वातावरणमा प्रभाव नपर्ने गरी खनिज पदार्थको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको र यो बजेटले त्यसमा ध्यान दिएको अर्थमन्त्री पौडेलले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्