-1747823900.jpg)
काठमाडौं । भोजपुर–संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् ।
उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रूपमा फेरी सञ्चालन गरिए पनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।
अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रूपमा फेरी बन्द भएको छ । जसका कारण झोलुंगे पुलबाट नै आवतजावतसँगै पिँठ्युमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर षडानन्द नगरपालिका–४ स्थित शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन भट्टराईले बताए ।
सो क्षेत्रबाट चुनाव जितेर पटक–पटक राजनीतिक दलका नेता सत्तामा पुगे पनि सतिघाटमा पक्की पुल निर्माणमा चासो नदेखाउँदा आफूहरू समस्यामा परेको उनले बताए ।
फेरी बन्द हुँदा सवारीसाधन नदीको किनारमा नै रोकिने गरेको छ । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन नसकेको भोजपुरवासी कल्पना बस्नेतले बताइन् । पुल नहुाँदा बोकेर सामान ओसारपसार गर्नुपर्दा महँगी बढेको र भनेको समयमा पनि पुग्न नसकिएको उनले गुनासो गरिन् ।
अरुण नदीमा पुल नहुँदा सामान ओसार्नका लागि भरियाको भर पर्नुपरेको छ । भरियाले प्रतिकिलो डेढ रुपैयाँका दरले भारी बोक्दै आएका छन् । फेरीले केही समय नदी तर्ने समस्या समाधान गरे पनि स्थायी समस्याको समाधान लागि पक्की पुल बन्नुपर्ने स्थानीयको माग छ । स्थानीय सरकारले पक्की पुल निर्माणका लागि पहल गरे पनि बन्न भने नसकेको जनाएको छ ।