
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन् ।
सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार संवैधानिक इजलासका कारण रविको मुद्दा आजका लागि पेसी तोकिएको थियो ।
मंगलबार रवि लामिछानेका तर्फबाट १० जना वकिलले बहस गरेका थिए । त्यसमध्ये अन्तिममा बहस गरेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहस अझै बाँकी छ । करिब आधा घण्टा रमनले बहस गरेपछि सरकारी पक्षले बहस गर्ने रविका वकिलहरूले जानकारी दिएका छन् । रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षा रहेको रविका वकिलहरूको भनाइ छ ।
०७३ नम्बर निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश भएलगत्तै रविका तर्फबाट श्रीमती निकिता पौडेलल बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । निवेदनमा लामो समयसम्म हेर्न नमिल्ने इजलास पर्दै आएपछि गत आइतबार हेर्न मिल्ने इजलासमा राखेर सुनुवाइको व्यवस्था मिलाउन आदेश भएको थियो ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलेको इजलासले हेर्न मिल्ने इजलासमा राखेर सुनुवाइ अघि बढाउने आदेश गरेपछि सर्वोच्चले हेर्न नमिल्ने भइसकेका न्यायाधीशबाहेकलाई गोला प्रणालीमा सहभागी गराएका थिए ।
सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको थियो । तर, मिसिल हेर्दा पाण्डेका आफन्त वकिल भेटिएपछि पुनः हेर्न नमिल्नेमा परेको थियो ।
सुप्रिम सहकारी ठगीविरुद्ध रवि र छवि दुवैले उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध ७३ नम्बर निवेदन हालेका छन् । यस्तै, रविका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले अघिल्लो हप्ताको मंगलबार नै बन्दीप्रत्यक्षीकरणको निवेदन हालेकी थिइन् । तर, उक्त निवेदनमा गत हप्ताभर नै पालो नआएर आइबार पनि हेर्न नमिल्ने इजलासमा परेपछि हेर्न मिल्ने न्यायाधीशको इजलासमा पर्ने गरी प्रक्रिया अघि बढाउने आदेश भएको हो ।
बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले लगाउमा राख्ने आदेश दिएपछि दुवै निवेदन एकसाथ राखिएको छ । आइतबार न्यायाधीश डा. मनोकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।
अघिल्लो आइतबारदेखि नै ‘हेर्न नमिल्ने’मा पर्दै सुनुवाइ सरिरहेको छ । आइतबार पनि पुनः ‘हेर्न नमिल्ने’ इजलासमै परेको थियो । न्यायाधीशद्वय शर्मा र पोखरेलमध्ये पोखरेलले न्यायाधीश नियुक्त हुनुअघि रविको नागरिकता र राहदानी मुद्दामा वकालत गरेका थिए । त्यही कारण यसअघि पनि उनको इजलासमा ‘हेर्न नमिल्ने’मा परेको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीसहित रिहा भएका रवि उच्च अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा छन् ।
सोही प्रकरणमा छवि भने जिल्ला अदालतकै आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । उनले पनि उच्च अदालतमा हालेको ७३ नम्बर निवेदनमा उच्च अदालतले जिल्लाको आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।