
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र बिहीबार (आज)बाट प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको हो ।
‘लाज शरणम्’ले उच्च शो सहित प्रदर्शन सुरु गरेको थियो । अहिले पनि उपलब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको निर्माणपक्षले जनाएको छ ।
‘लाज शरणम्’ले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज र मोफसलमा झापाको विर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आईएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।
चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ‘लाज शरणम’लाई सुदीप बरालले छायांकन गरेका हुन् । चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।