
काठमाडौं । भारत र चीनबीचको सम्बन्धमा सुधारको संकेत देखिएको छ । पछिल्ला केही वर्षहरूमा यी दुई देशबीचको सम्बन्ध तनावपूर्ण देखिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण विश्वविरुद्ध कर युद्ध सुरु गरेपछि नेपालका दुई ठूला छिमेकी देशबीचको सम्बन्ध नजिकिँदै गएको हो । यस वर्ष अप्रिल ९ सम्मको तीन महिनामा भारतस्थित चिनियाँ दूतावासले भारतीय नागरिकलाई ८५ हजारभन्दा बढी भिसा जारी गरेको छ ।
यो कदमलाई दुई देशबीचको संस्कृति, पर्यटन र अर्थतन्त्रमा सहयोग बढाउने दिशामा एक प्रमुख प्रयासका रूपमा हेरिएको छ । भारत र चीनले आपसी सहयोग प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन् ।
ट्रम्पको करबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ, किनकि यसमा १४५ प्रतिशत आयात शुल्क लगाइएको छ । चीनले आफ्नो यात्रा नीति खुकुलो बनाएर भारतीयलाई आफ्नो देशमा आमन्त्रित गर्ने प्रयास गरेको छ ।
चिनियाँ राजदूत सु फेइहोङले एक्समा लेखेका छन्, “अप्रिल ९, २०२५ सम्म, भारतस्थित चिनियाँ दूतावास र वाणिज्य दूतावासहरूले यस वर्ष भारतीयहरूलाई ८५,००० भन्दा बढी भिसा जारी गरेका छन्। हामी खुला, सुरक्षित, जीवन्त र मैत्रीपूर्ण चीनको अनुभव गर्न थप भारतीय साथीहरूलाई स्वागत गर्दछौँ ।”