
काठमाडौं । सेयर बजारका निम्ति ०८१ साल सुखद रह्यो । यो वर्ष लगानीकर्ताले सेयर बजारबाट राम्रै आर्जन गरे । सेयर बजार बढेर तीन हजार विन्दु पार गर्यो । ०८० मा सेयर बजार १९ सय विन्दुभन्दा तल थियो ।
यति मात्र होइन, ०८१ मा सेयर कारोबार रकमले नयाँ रेकर्ड बनायो । ०८१ साउन ३१ गते २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भयो । सेयर कारोबारको इतिहासमा यो हालसम्मकै उच्च मूल्यको हो । ०७८ साउन ३१ गतेको उच्च मूल्यको सेयर खरिद–बिक्रीको रेकर्ड ०८१ मा तोडियो । ०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
०८१ वैशाख १० गते वर्षकै कम मूल्यको सेयर कारोबार भयो । त्यो दिन दुई अर्ब पाँच करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
तोडिएन उच्च विन्दुको रेकर्ड
०८१ असार १७ गते राति नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बन्ने सहमति भयो । त्यसको भोलिपल्ट अर्थात् असार १८ गते नेप्से परिसूचक ४७ अंकले बढ्यो । सहमति भएको दिन असार १७ गते पनि बजार १६ अंकले बढेको थियो ।
उक्त असार १६ देखि साउन ३१ गतेसम्म ३४ दिन सेयर कारोबार भयो । त्यसमध्ये आठ कारोबार दिनमा २४२.९३ अंकले परिसूचक घट्यो । बाँकी २६ कारोबार दिन परिसूचक एक हजार १५९ अंकले बढ्यो ।
कांग्रेस–एमालेबीचको सहमति र नयाँ सरकार बनेपछि नेप्से परिसूचक साउन ३१ सम्म ४७.३१ प्रतिशतले बढ्यो । साउन ३१ गते बजार ३०००.८१ विन्दुमा पुग्यो । असार १६ गते बजार २०३७.०९ विन्दुमा थियो । तर, साउन ३१ गतेपछि बजार घटेर २४४२.६३ विन्दुसम्म झर्यो ।
वर्षको अन्तिम दिन (चैत ३१) नेप्से परिसूचक २६६२.०८ विन्दुमा बन्द भएको छ । यस दिन ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भयो । कारोबार रकम अघिल्ला दिनभन्दा बढ्दै गएको छ । ०८१ सालको पहिलो कारोबार दिन वैशाख २ गते २०२३.३५ विन्दुमा भएको बजार अन्त्यमा त्योभन्दा ६३८.७३ अंक माथि छ ।
०७९ मा बजार न्यून विन्दु अर्थात् १८१५ मा थियो । त्यसपछि बजार उकालो लागेको छ ।
०७८ भदौ २ गते नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको थियो । यो दिन नेप्से परिसूचकले ३२ सय विन्दु पार गरेको थियो । तर, अन्तिम समयमा परिसूचक ३१९९.०३ विन्दुमा बन्द भयो । त्यसपछि बजार घटेर १८१५.१४ विन्दुसम्म झर्यो ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ सेयर कारोबार गर्नेका निम्ति दुःखदायी रह्यो । उच्च विन्दुमा खरिद गर्नेले आफ्नो लगानी गुमाए । तर, उक्त समयमा लगानी गर्नेले ०८१ साउन, भदौसम्ममा राम्रै कमाए ।
०८१ साउन ३१ गतेपछि बजार दुई हजार विन्दुभन्दा तल झरेको छैन । यही कारणले पनि हाल बजार ‘बुलिस ट्रेन्ड’मै रहेको सेयर बजारका जानकार टिप्पणी गर्छन् । ३१९९ विन्दु पार गर्न बजारले आधार तयार गरिरहेको बताइएको छ ।
गएको असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भयो । नयाँ अर्थमन्त्री बने, विष्णुप्रसाद पौडेल । पौडेल अर्थमन्त्री बन्दा बजार सधैँ बुलिसमा जाने भन्दै चर्चा चलाइयो । हुन पनि यसअघि पौडेल नै अर्थमन्त्री बन्दा बजार उच्च विन्दुमा पुगेको इतिहास छ ।
०८१ असार ३१ गते पौडेलले अर्थमन्त्रीका रूपमा शपथ लिएका थिए । उनी अर्थमन्त्री बनेपछि पनि लगानीकर्ता उत्साहित नै देखिए । अर्थमन्त्रीमा पौडेल आएपछि लगातार ६ कारोबार दिन उच्च अंकले परिसूचक बढ्यो ।
त्यसपछिको एक महिनामा सेयर बजारका ‘खेलाडी’ले राम्रै आर्जन गरे । बजार बढेको क्रम हेर्दा यसअघिको उच्च विन्दु ३२ सयलाई पार गर्ने अनुमान धेरैले गरेका थिए । तर, बजार तीन हजारभन्दा माथि जान सकेन ।
अर्थमन्त्रीले आश्वासन दिए, काम गरेनन्
पौडेल अर्थमन्त्री बनेपछि बजारमा सेयर कारोबारी सक्रिय भए । उनी पनि उत्साहित बने । कुनै कार्यक्रममा गएर बोल्दा उनले सेयर बजारकै चर्चा गर्थे । तर, उनको यो उत्साह एक महिना टिकेन ।
उनले ०८० पुसदेखि नै खाली रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्न सकेनन् । उनी अर्थमन्त्री हुनुभन्दा अगाडि नै धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया विवादित थियो ।
उनी मन्त्री बनेपछि पहिलो प्राथमिकता बोर्ड अध्यक्ष नियुक्तिलाई दिएका थिए । उनले औपचारिक कार्यक्रममा पनि छिट्टै बोर्ड अध्यक्ष छनोट गरिने बताएका थिए । तर, अर्थमन्त्री नियुक्त भएको पाँच महिनापछि मात्र अध्यक्षको टुंगो लगाए ।
अर्थमन्त्री पौडेलले सेयर बजारमा सकारात्मक माहोल सिर्जना गर्ने गरी अभिव्यक्ति दिए । तर, सेयर बजारलाई उचाइमा लैजाने गरी कुनै काम गरेनन् । नेप्सेका अधिकारीले दिएको सुझाव समेत उनले बेवास्ता गरे ।