site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कहिले हुँदैछ कांग्रेस महाधिवेशन ? तयारी कहाँ पुग्यो ?

काठमाडौं । नेपाली  कांग्रेसका महामन्त्री गगन थापा सर्वाधिक देश दौडाहामा निस्किने नेतामा पर्छन् । थापाबाहेक कांग्रेस नेता डा. शेखर कोइराला पनि जिल्ला दौडाहामै छन् । उनीहरू दुवैको देश दौडाहा महाधिवेशन केन्द्रित भएको कांग्रेस नेताहरूको टिप्पणी छ ।

थापा र कोइरालाको देश दौडाहा महाधिवेशन केन्द्रित हो तर महाधिवेशनको मिति भने तय भइसकेको छैन । जहाँ जहाँ क्षेत्रीय तहका कार्यक्रम भएका छन् त्यहाँ पुगेका थापाले १५औँ महाधिवेशन समयमै हुने धारणा व्यक्त गर्दै आएका छन् ।

अघिल्लो साता गुल्मी  जिल्ला सम्मेलनमा अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित पुगेका थापाले समयमै महाधिवेशन सम्पन्न गर्न आफू र शर्माले काम गरिरहेको बताए ।

“कांग्रेसको अधिवेशनको चिन्ता छोडिदिनुहोला, धेरै चिन्ता केही छैन । पार्टीको सदस्यता टुंगिदैछ । म सदस्यताका विषयमा काम गर्दैछु । आदरणीय विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ उहाँले विधानका बारेमा काम गर्नुहुन्छ,” महामन्त्री थापाले गल्मी जिल्ला सम्मेलनमा भनेका थिए, “कांग्रेसको अधिवेशन कसैले सार्दैन । कांग्रेसको अधिवेशन गर्दैन भनेर पनि कसैले भन्दैन । कांग्रेसको अधिवेशन हुन्छ हामी समयमै महाधिवेशन गर्छौं ।”

त्यसक्रममा उनले भोलिको महाधिवेशन र भोलि आउने सभापतिको चिन्ता तथा जोडघटाउमा नलाग्न पनि आग्रह गरे । 

“भोलि कांग्रेसको सभापति को भएर आउँछ भन्ने कुरा छोडदिनुस् । त्यो पछिको कुरा हो त्यसका बारेमा धेरै चिन्ता नगरौं,” महामन्त्री थापाले भने । 

त्यसबाहेक अन्य ठाउँका कार्यक्रममा पनि उनले महाधिवेशन समयमै हुने बताउँदै आएका छन् ।

चैत ३० गते धनकुटाको जिल्ला कार्यालयमा भएको कार्यक्रममा थापाले ०८३को मंसिरसम्ममा जसरी पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै आफू त्यसअघि नै होस् भन्ने चाहनामा रहेको बताएका थिए । 

“०८४ सालको वैशाखमा स्थानीय चुनाव हुन्छ । ०८४ सालको वैशाखभन्दा पहिला ०८३ सालको मंसिर आउँछ । ०८३ सालको मंसिर भन्दा एक दिन पनि कांग्रेसको महाधिवेशन कसैले लैजान सक्दैन,” थापाले शनिबार धनकुटामा भनेका छन्, “हामी सकेसम्म ०८२ को चैतमा गर्न चाहन्छौँ, ०८३ को वैशाखमा गर्न चाहन्छौँ ।”

विधानतः कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो । तर विधानमा भएको व्यवस्थाअनुसार महाविधेशन ०८२ मंसिरमा नहुने निश्चित भइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन आफूले सरकारको नेतृत्व नलिएसम्म हुन नसक्ने सार्वजनिकरूपमै प्रकट गर्न थालेका छन् ।

पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि देउवाले ०८३ असारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफूलाई हस्तान्तरण गर्ने बताउँदै त्यसअघि महाधिवेशन भए आफूलाई प्रधानमन्त्री बन्न नदिने रणनीति सुरु हुने बताएका थिए ।

देउवाले राखेको यो धारणामा धेरै नेताहरुको सकारात्मक प्रतिक्रिया रहेको एक नेता बताउँछन् । अहिले देश दौडाहामा रहेका थापाले भन्दै आएको ‘समयमै महाधिवेशन’ कहिले हो त ? 

उनी निकट नेता शंकर तिवारी भन्छन्– ०८३ मंसिरभित्रै ।

“उहाँले तोकिएकै समयमा महाधिवेशन हुन्छ भन्दै आउनुभएको छ,” तिवारीले बाह्रखरीसँग भने, “शनिबार धनकुटामा दिएको अभिव्यक्ति हेर्दा ०८३ मंसिर नै भन्ने बुझिन्छ ।” 

तर संस्थापन पक्षका नेताहरु भने पार्टी पदाधिकारीले नै महाधिवेशन सुनिश्चित गर्न भूमिका निर्वाह गर्न नसकेको बताउँदै आएका छन् ।

चैत १५ गते नेता विमलेन्द्र निधिको निवास मध्येबानेश्वरमा भेला भएका संस्थापन पक्षका नेताहरु निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र कृष्ण सिटौला सहभागी बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

“महाधिवेशनको मिति गुजार्ने प्रयास भइरहेको छ,” निधिले भेलामा भएका छलफलबारे बाह्रखरीसँग भने, “पदाधिकारीहरूले उचित भूमिका खेल्न नसकेको विषयमा पनि समीक्षा भएको छ ।”

त्यसबाहेक संस्थापनइतरका नेता डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्ने प्रयास भइरहेको भन्दै त्यसो गरे त्यो पार्टीको हित विपरीत हुने बताउँदै आएका छन् ।  नेता कोइरालाले ०८२ मंसिरमा महाधिवेशन नभए पार्टी त्यसपछि क्रमिक रुपमा कमजोर हुँदै जाने उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro