
काठमाडौं । बंगलादेशमा सत्ता संघर्ष तीव्र हुँदै गएको छ । बंगलादेशको सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यममा यसलाई सेना र अन्तरिम सरकारबीचको शीतयुद्धका रूपमा चित्रण गरिएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिना र शासन गर्दै आएको अवामी लिगलाई हटाएको नौ महिनापछि अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको भूमिका अनिश्चित बनेको छ । हसिना आफ्नो १५ वर्ष लामो शासनविरुद्धको जनआन्दोलनपछि सन् २०२४ अगस्टमा भागेर भारत गएकी थिइन् ।
बंगलादेशको अन्तरिम सरकार र देशका तीनवटा सशस्त्र बलका प्रमुखहरू बीच कानुनी व्यवस्थाबारे छलफल गर्न मे २० मा एक नियमित बैठक राखिएको थियो । युनुसले राजीनामा दिने विचार गरिरहेको चर्चा चलेका बेला यो भेला भएको थियो ।
शनिबार भएको मन्त्रिपरिषद्को बैठकपछि योजना मन्त्रालयका प्रमुख वाहिदुद्दिन महमुदले पत्रकारहरूलाई अन्तरिम सरकारका प्रमुखले राजीनामा दिने नभनेको र उनीसहित अन्य सल्लाहकारहरू पनि दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताए ।
तर, विश्लेषकहरू यो तनाव अझै समाप्त नभएको बताउँछन् । उनीहरूले बंगलादेशमा भइरहेको हालको उथलपुथल र देशले निर्वाचन फर्काउन गरिरहेको प्रयासको अर्थ के हो भन्ने कुरा बाहिर निकाल्छौँ ।
सेना र अन्तरिम सरकारबीच किन बढिरहेको छ तनाव ?
सन् २०२४ जुलाईमा प्रधानमन्त्री शेख हसिनाविरुद्ध ठूलो प्रदर्शन भएपछि बंगलादेशको सेना देशभर तैनाथ छ । नागरिक अशान्ति, राष्ट्रव्यापी प्रहरी हडताललगायत घटनाक्रमले सेनाको उपस्थिति आवश्यक बनेको थियो । यद्यपि प्रहरीले अगस्टको मध्यतिर आफ्नो सेवा पुनः सुरु गरे पनि, देशभरि अशान्ति जारी रहँदा सेनाको उपस्थिति नागरिक–सैनिक सहमतिको रूपमा कायम गरिएको छ ।
बंगलादेशका सेनाप्रमुख जनरल वाकर–उज–जामानले बुधबार सार्वजनिक रूपमा नागरिक कर्तव्यका लागि सेनाको लामो समयसम्म तैनाथीले देशको सुरक्षा प्रभावित गर्न सक्ने बताएका थिए । यस वर्षको डिसेम्बरसम्म राष्ट्रिय निर्वाचन गर्न आग्रह गर्दै उनले चेतावनी दिएका थिए ।
बंगलादेशको डेली स्टारको एक समाचारले जनाएअनुसार जनरल वाकरले ढाका क्यान्टोनमेन्टमा एक उच्चस्तरीय सभालाई सम्बोधन गर्दै बंगलादेशलाई राजनीतिक स्थिरताको आवश्यकता भएको बताए । उनले यो निर्वाचित सरकारमार्फत मात्र सम्भव भएको बताए ।
एक दुर्लभ सम्बोधनमा उनले ३० मिनेट भाषण र एक घण्टाभन्दा बढी प्रश्नोत्तर सत्र सम्पन्न गरेका थिए । देशभरका सैनिक अधिकृत र संयुक्त राष्ट्रसंघीय मिसनमा रहेका अधिकारीहरू उक्त कार्यक्रममा सहभागी भएको बताइएको छ ।
डेली स्टार अखबारले उद्धृत गरेअनुसार जनरल वाकरले भने, “सेना राष्ट्र रक्षाका लागि हो, प्रहरीकर्मका लागि होइन... हामीले निर्वाचनपछि ब्यारेकमा फर्कनुपर्छ ।”
उनको यो टिप्पणीले युनुस प्रशासनसँग सेनाको मतभिन्नता स्पष्ट देखाउँछ । सेनाप्रमुख जनरल वाकरको यो भनाइले युनुस प्रशासनको सन् २०२६को मध्यभन्दा पहिले निर्वाचन नगर्ने घोषित योजनासँग मतभेद देखाउँछ । युनुस प्रशासनले निष्पक्ष निर्वाचनका लागि पहिले राजनीतिक र निर्वाचन सुधार गर्न समय चाहिने बताएको छ ।
स्थानीय मिडिया रिपोर्टका अनुसार सेना प्रमुख वाकरले अन्तरिम सरकारले विचार गरिरहेका प्रमुख योजनामा पनि कडा विरोध जनाएका छन् । म्यानमारको राखाइन राज्यमा प्रस्तावित मानवीय करिडोरप्रति उनले लक्षित गरेको बताइएको छ । “कुनै मानवीय करिडोर हुने छैन । बंगलादेशको सम्प्रभुताका विषयमा कुनै सम्झौता हुँदैन ।”
उनले यस्तो कदमले बंगलादेशलाई खतरनाक प्रोक्सी द्वन्द्वमा धकेल्न सक्ने चेतावनी दिए । उनले भने, “जनताद्वारा निर्वाचित राजनीतिक सरकारले मात्र यस्तो निर्णय गर्न सक्छ ।”
सेनाप्रमुखले निर्वाचनअगाडि अन्य निर्णय समेत गर्ने प्रयासप्रति चिन्ता व्यक्त गरे । यसमा बंगलादेशको प्रमुख समुद्री बन्दरगाह चट्टोग्राम पोर्टको विदेशी व्यवस्थापन र एलन मस्कको स्टारलिंक उपग्रह इन्टरनेट सेवा सुरु गर्ने योजना समावेश छ । उनले यसले राष्ट्रिय सुरक्षा जोखिममा पर्न सक्ने बताए । “सेनाले कसैलाई हाम्रो सम्प्रभुतामा सम्झौता गर्न दिने छैन,” डेली स्टारले उनलाई उद्धृत गरेको छ ।
सेना प्रमुखको यो टिप्पणी त्यतिबेला आएको हो, जतिबेला युनुस प्रशासनले जनरल वाकरलाई पदबाट हटाउने प्रयास गरेको अफवाह चलेको थियो । तर यो पुष्टि भएको छैन । यसले सार्वजनिक चर्चा बटुलेको छ र संक्रमणकालीन अवधिमा नागरिक–सैनिक सम्बन्धबारे प्रश्न उठाएको छ ।
विश्लेषकहरूका अनुसार, जनरल वाकरको यो दृढ सार्वजनिक अभिव्यक्तिको समय र यसमा संवैधानिक प्रक्रिया र राष्ट्रिय सम्प्रभुतामा दिएको जोडलाई अन्तरिम सरकारका बढ्दो नागरिक प्रयासप्रति सेनाभित्र बढ्दो असन्तुष्टिको संकेतको रूपमा हेरिएको छ ।
के अन्य दलसँग पनि तनाव बढेको हो ?
गत वर्ष अगस्ट ८ मा गठन भएदेखि नै अन्तरिम सरकारले विभिन्न पक्षबाट बढ्दो दबाबको सामना गरिरहेको छ । प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले डिसेम्बरभित्रै राष्ट्रिय निर्वाचन गर्न माग गरेको छ । तर यो वर्ष गठन भएको विद्यार्थी नेतृत्वको राष्ट्रिय नागरिक पार्टी र अन्य राजनीतिक समूहहरूले निर्वाचनअघि व्यापक सुधार र गत वर्ष विद्यार्थी प्रदर्शनमा क्रूर दमनपछि हत्या गर्ने आवामी लिग नेतृत्वका सदस्यविरुद्ध कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।
बंगलादेशको सबैभन्दा ठूलो राजनीतिक दल बीएनपीले अन्य मागका लागि पनि प्रदर्शनको सुरु गरेको छ । यसमा आवामी लिग शासनकालमा सन् २०२० फेब्रुअरी १ मा ढाकामा धाँधली गरेर हराइएको भनिएका उनका उम्मेदवारलाई पुनः मेयर नियुक्त गर्नुपर्ने माग पनि छ ।
बिहीबार बीएनपीले यो वर्षको अन्त्यसम्म निर्वाचन गर्ने मागका साथै दुई विद्यार्थी मन्त्रिपरिषद् सदस्य र राष्ट्रिय सुरक्षा सल्लाहकारको राजीनामा माग गर्दै पत्रकार सम्मेलन गरेको थियो । यी कदम नउठाएसम्म युनुस नेतृत्वको प्रशासनसँग सहकार्य जारी राख्न गाह्रो हुने सो दलले चेतावनी दिएको छ ।
शनिबार युनुसले बीएनपी र बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक राजनीतिक दल बंगलादेश जमात–ए–इस्लामीसँग भेट्ने अपेक्षा गरिएको छ ।
युनुस किन राजीनामा गर्न चाहन्छन् ?
मन्त्रिपरिषद् बैठकपछि शनिबार बंगलादेशको अन्तरिम नेता युनुसले पद नछाड्ने घोषणा गरियो । तर, बढ्दो अशान्तिबीच उनले राजीनामा दिने तयारी गरिरहेको अड्कल बढ्न थालेका छन् । स्थानीय सञ्चारमाध्यमले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामा दिने तयारी गरिरहेको बताएका थिए ।
तर, उक्त दिनको साँझ अघिल्लो सरकारविरुद्ध भएको विद्रोहको नेतृत्व गरेका छात्र नेता तथा नयाँ गठन गरिएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी)का अध्यक्ष नाहिद इस्लामले युनुसलाई भेटेर पदमा रहन अनुरोध गरेका थिए ।
भेटपछि नाहिदले युनुसले राजीनामा दिनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए । स्रोतहरूले बताएअनुसार युनुसले अझै पनि आफ्ना विकल्पमा विचार गरिरहेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार युनुसले बढ्दो राजनीतिक दबाबका कारण राजीनामा दिने विचार गरिरहेको बुझिएको थियो ।
बिहीबार मन्त्रिपरिषद् सदस्यहरूलाई युनुसले संक्रमणकालीन सरकारसँग सहकार्य गरी राज्यमा सुधार र शान्तिपूर्ण लोकतान्त्रिक चरणमा जाने प्रतिबद्धता पूरा गर्न राजनीतिक पार्टी र अन्य सरकारी संस्थाले असहयोग गरेको बताएको उनको मन्त्रिपरिषद् दुई सदस्यले बताएका थिए ।
उनले सरकारमा बसेर आफ्ना जिम्मेवारी पूरा गर्नु असम्भवजस्तै भइसकेको र चुनाव गराउन दबाब पनि बढ्दै गएको मन्त्रिपरिषद् बैठकमा बताएका थिए ।
“हालको परिस्थितिमा निष्पक्ष चुनावको सम्भावना निकै कम छ,” उनले भने । कुनै पनि चुनावमा हस्तक्षेप वा धाँधली हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । सम्भावित हस्तक्षेप वा धाँधलीको जिम्मेवारी लिन नचाहेको उनको भनाइ थियो ।
बिहीबार साँझ, युनुसले ढाकास्थित आफ्नो सरकारी निवास जमुना स्टेट गेस्ट हाउसमा सूचनामन्त्री महफुज आलम, स्थानीय सरकार सल्लाहकार आसिफ महमुद शोइब भुइयाँ र एनसीपी संयोजक नाहिद इस्लामसँग भेट गरेका थिए ।
पछि बीबीसी बांग्लासँग कुरा गर्दै नाहिदले युनुस राजीनामा दिने सोचमा रहेको पुष्टि गरे । उनले आफू आन्दोलन र राजनीतिक गतिरोधले बन्धक भएको महसुस गरिरहेको बताएका थिए ।
“सबै राजनीतिक दलले एउटा साझा विन्दु भेट्टाउन सक्दैनन् भने म कसरी काम गर्न सक्छु ?” नाहिदले युनुसलाई उद्धृत गर्दै बताएका थिए । तर, उनले अन्तरिम नेतालाई दृढ रहन आग्रह गर्दै जुलाईको विद्रोहपछि जनताले उनीप्रति आशा राखेको बताए ।
त्यसैबीच, युनुसको महत्त्वाकांक्षी सुधार कार्यसूची कमजोर हुँदै गएको बताइएको छ । विश्लेषकहरूले राज्यका मुख्य निकायहरू, जस्तैः प्रहरी र नागरिक प्रशासन अन्तरिम सरकारको नियन्त्रणबाट क्रमशः खस्किँदै गएको बताइएको छ ।
यसको एक प्रमुख उदाहरण राष्ट्रिय राजस्व बोर्डलाई दुई अलग–अलग निकायमा विभाजन गर्ने प्रस्ताव हो । तर, अनुभवी राजस्व अधिकारीहरूलाई पन्छाइने डरका कारण यसका वरिष्ठ अधिकारीहरूले यसप्रति कडा विरोध जनाएका छन् ।
बंगलादेश नेसनलिस्ट पार्टी के चाहन्छ ?
बीएनपी नेता अमिर खसरू महमुद चौधरीले उनको पार्टीले युनुसको राजीनामा कहिल्यै नचाहेको बताए ।
खसरूले भने, “जनताले मतदानमार्फत लोकतन्त्र फिर्ता ल्याउन पर्खिरहेका छन् । उनीहरू यसबाट लगभग दुई दशकदेखि वञ्चित छन् । हामी उनले स्वतन्त्र र निष्पक्ष चुनाव गरी शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नेछन् भन्ने आशा गर्छौं ।”
चुनावको समयतालिका तय गर्नमा ढिलाइ भएको कारणबारे उनले यो विषयमा देशभरि गम्भीर छलफल चलिरहेको बताए ।
खसरूले बीएनपीले अन्तरिम सरकारलाई केयरटेकर ढाँचामा जानुपर्ने बताए । उनले सानो मन्त्रिपरिषद् र विवादास्पद व्यक्तिहरू विशेष गरी राजनीतिक महत्त्वाकांक्षा वा सम्बद्धता भएकाहरू हटाउनुपर्ने बताए । अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरूले पहिले नै राजनीतिक पार्टी स्थापना गरिसकेकाले चुनाव विश्वसनीय बनाउन उनीहरूलाई हटाइनुपर्ने बताए ।
उनले सुधार र चुनावबीच कुनै विरोधाभास नरहेको भन्दै दुवै एकैसाथ अगाडि बढ्न सक्ने बताए ।
खसरूले निष्पक्ष मतदान सुनिश्चित गर्न निर्वाचन आयोग र सेनाको भूमिकामा विश्वास जनाए । चुनावका लागि अनुकूल राजनीतिक वातावरणको संकेत दिँदै उनले भने, “यो शेख हसिनाको युग होइन ।”
शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा बीएनपी स्थायी समिति सदस्य सलाहुद्दिन अहमदले युनुस व्यक्तिगत रूपमा आफ्नो दायित्व निर्वाह गर्न असमर्थ भए राज्यले विकल्प खोज्ने बताएका थिए । तर उनले अगाडि भने, “एक विश्वव्यापी सम्मानित व्यक्तिको रूपमा उनले परिस्थिति बुझ्नेछन् र डिसेम्बरसम्म चुनावको रोडम्याप घोषणा गर्नेछन् भन्ने हामी आशा गर्छौं ।”
अरू राजनीतिक दल के भन्छन् ?
एनसीपीका वरिष्ठ संयोजक आरिफुल इस्लाम आदिबले बीएनपीको भनाइ खारेज गर्दै भने उनीहरू पुरानै बलप्रयोगमा आधारित रणनीतिमा अडिएको आरोप लगाए । तर, उनले बीएनपी र अन्य सबै दलहरूलाई राष्ट्रिय हितका लागि एकताबद्ध हुन आग्रह गरे ।
यसैबीच, ढाकामा जनप्रदर्शन र पर्दापछिका बैठकहरू जारी छन् । बिहीबार साँझ एनसीपी, इस्लामी आन्दोलन बांग्लादेशलगायत पाँच राजनीतिक दलका शीर्ष नेता एकठाउँ जम्मा भए । उनीहरूले सबै फाँसीवाद–विरोधी शक्तिहरूलाई एकताबद्ध हुन, राष्ट्रिय सम्प्रभुताको रक्षा गर्न र प्रमुख सुधारपछि युनुसको नेतृत्वमा विश्वसनीय चुनाव समर्थन गर्न आह्वान गरे ।
शुक्रबार राति एनसीपी संयोजक सरवर तुषारले भने, “अफवाहका बीच डा. मुहम्मद युनुस आफ्नो ऐतिहासिक जिम्मेवारीप्रति प्रतिबद्ध रहनेछन् भन्ने हामी विश्वास गर्छौं ।”
अब के–के अपेक्षा गर्ने ?
राजनीतिक विश्लेषक रिजाउल करिम रोनी युनुसको राजीनामाको कुराले संक्रमणकालीन व्यवस्थाभित्र एकताको अभावका कारण बढ्दो निराशालाई प्रतिविम्बित गर्ने बताउँछन् । “विद्रोहपछिको अन्तरिम सरकार वरिपरि कायम भएको स्वार्थ समूहका कारण कमजोर हुँदै गएको देखिन्छ,” उनले भने, “राजीनामाको चर्चाले यो एकता विकास गर्न आवश्यक रहेको संकेत दिन सक्छ ।”
रोनीले थपे, “यो विन्दुमा चुनावको वकालत गर्दा बीएनपीको राजनीतिक स्वार्थ जोडिएको देखिन सक्छ । तर अन्ततः जनताले कसको नेतृत्व चाहन्छ भन्ने निर्णय गर्ने अधिकार उनीहरूको हातमा नै हुनुपर्छ ।”
तर एनसीपीका नाहिद इस्लामले यसलाई अर्कै दृष्टिकोणबाट हेर्छन् । उनले शुक्रबार राति फेसबुक पोस्टमा चेतावनी दिँदै भने, “लोकतान्त्रिक संक्रमणलाई विफल पार्ने र जनवरी १, २००७ को शैलीमा अर्को व्यवस्था कायम गर्ने षड्यन्त्र चलिरहेको छ ।”
“बंगलादेशलाई बारम्बार विभाजित गरिएको छ, देशलाई कमजोर बनाइराख्न राष्ट्रिय एकतालाई ध्वस्त गरिएको छ,” नाहिदले लेखे ।
युनुसलाई पदमा रहने र सुधार, न्याय र मताधिकारको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै उनले भने, “डा. युनुसले आफ्नो कार्यकालमा नै सबै राजनीतिक संकट समाधान गर्नुपर्छ ।”
तर गत वर्षको नाटकीय विद्रोहपछिको दोस्रो संक्रमणकालमा देशलाई नेतृत्व गर्ने नयाँ सहमति कायम गर्न उनी दृढ रहन सक्छन् वा सक्दैनन् भन्ने हिसाबले अब सबैको नजर मुहम्मद युनुसमा छ ।