
काठमाडौं । ‘भिजिट भिसा विवाद’मा सत्तारुढ दल कांग्रेस र एमाले दुवैमा ‘दोधारे चरित्र’ देखिएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता दुवै पार्टीले प्रश्न उठाएका छैनन्, बरू राज्यका निकायबाट छानबिन प्रारम्भ नहुँदै लेखकलाई ‘निर्दोष’को ‘प्रमाणपत्र’ दिन खोजेको टीकाटिप्पणी बाक्लिएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सोमबार र नेकपा (एमाले)को सचिवालय बैठकले आइतबार कुनै ठोस प्रमाणबेगर लेखकले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको जिकिर लिएका छन् ।
एमालेले सामाजिक सञ्जाल र मिडियामा आएकै आधारमा अभियोजन नगर्ने उल्लेख गरी राज्यको अधिकरप्राप्त निकायबाट छानबिन नहुँदै धारणा बनाउन नमिल्ने बताएको छ ।
सत्तारुढ कांग्रेस–एमालेमा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने साझा धारणा बनिरहेका बेला दुवै पार्टीका केही नेताहरूले भने गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठाइरहेका छन् ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रश्न उठेपछि ‘नैतिकता’का आधारमा राजीनामा दिन गृहमन्त्री लेखकलाई आग्रह गरेका छन् । गत शनिबार विराटनगर पुगेका डा. कोइरालाले विमानस्थलमा प्रश्न उठेपछि आफू ‘क्लिन’ छु भनेर छानबिनमा सहयोगका लागि पनि गृहमन्त्रीले राजीनामा दिनु उचित हुने बताएका थिए ।
तर, सोमबार बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले कोइरालाकै अभिव्यक्तिमा प्रश्न उठाएका छन् । त्यतिमात्र होइन, डा. कोइरालालाई स्पष्टीकरण सोध्ने तयारी भएको छ ।
“गृहमन्त्रीजीले नै यसबारे ब्रिफिङ गर्नुभयो र आफ्नो कुनै संलग्नता नभएको बताउनुभयो । अन्तिममा पार्टीकै नेताहरूले राजीनामाको कुरा गर्नुभयो । मैले डा. शेखर कोइरालालाई दुई पटकसम्म फोन गरी कुरा गरेँ भन्नुभयो,” बैठकमा सहभागी एक पदाधिकारीले बाह्रखरीसँग भने, “त्यसपछि अधिकांशले स्पष्टीकरण सोध्नुपर्छ भन्नुभयो ।”
स्पष्टीकरण सोध्नुपर्छ भन्नेमा डा. शेखर कोइरालाकै भाइ डा. शशांक कोइराला पनि छन् ।
उनले बैठकबाट बाहिँरिदै गर्दा गृहमन्त्री संलग्न नभएको ‘केस’मा आरोपित गर्नेलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने बताए ।
“रमेश लेखकले एक इन्च पनि तलमाथि गर्नुभएको छैन,” शशांक कोइरालाको भनाइ थियो, “त्यसैले हामीले सभापतिलाई के भन्यौँ भने तपाईंले उनीहरूलाई बोलाएर सोध्नुस् । के भएको हो । यसको समाधान निकाल्नुपर्यो नि ! उहाँलाई बोलाएर सोध्नुपर्छ । स्पष्टीकरण नै सोध्नुपर्छ । शेखर, सुनील र राजेन्द्र बजगाईसँग भनेर हामीले भनेका छौँ ।”
राजीनामाको विषयले कांग्रेसमा गम्भीर मोड लिएको छ । उता सत्तारूढ एमालेमा पनि निर्णय र व्यवहार फरक देखिएको छ । उपमहासचिव प्रदीप ज्ञवाली कर्मचारीमाथि आरोप लागेको, आरोपितमाथि छानबिन बयानसमेत नभइसकेको अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको बताउँछन् ।
“उहाँमाथि आरोप लागेको होइन, कर्मचारीमाथि आरोप लागेकामा उनीमाथि नै छानबिन भइसकेको छैन । यस्तो बेला राजीनामा माग्ने आधार नै छैन,” ज्ञवालीले बाह्रखरीसँग भने, “भोलि छानबिनले पूर्णता पाउँदा उहाँ जोडिनुभयो भने त्यसबेलाकै कुरा भयो । यतिखेरै उहाँको राजीनामा माग्न आधार छैन ।”
उपमहासचिव ज्ञवालीले राजीनामाको आधार नभएको भनिरहँदा उनकै पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल भने गृहमन्त्री पदमा बस्दा सरकारको छवि नै धुमिल हुने भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
“जुन देशको गृहमन्त्रालयकै उच्च नेतृत्वको योजना र संलग्नतामा मानव तस्करी हुन्छ, त्यस देशको हालत र अन्तर्राष्ट्रिय छवि कस्तो हुन्छ होला ?,” प्रश्न उठाउँदै उनले भनेका छन्, “एकजना होनाहार गृहमन्त्री भएको बेला भुटानी शरणार्थी काण्डबाट निहुरिएको नेपालको शीर अर्का होनाहार गृहमन्त्री भएको बेला भएको ‘भिजिट भिसा’ काण्डले थप निहुराएको छ ।”
अनुसन्धानबाट प्रमाणित नै भइसकेको जसरी रिजालले बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति मिलाए पनि नागरिकको अदालतमा अपराधीकै रूपमा अभिलिखित हुने उल्लेख गरेका छन् ।
पार्टीको निर्णयसँग असहमत हो भन्ने प्रश्न गर्दा रिजाल आफूले निर्दोष भएको प्रमाणित गर्न पदमा बस्नु नहुने भनेर व्यक्तिगत धारणा राखेको बताउँछन् ।
पार्टी निर्णयविपरीत बोल्न नहुने मान्यता सार्वजनिक गर्ने रिजालको अभिव्यक्तिले एमाले दोहोरो रणनीतिमा भएको छनक दिन्छ ।
“मैले आरोप लागिसकेपछि गृहमन्त्रीले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्नु उचित हुन्छ भनी व्यक्तिगत धारणा राखेका हुँ,” रिजालले बाह्रखरीसँग भने, “उहाँ पदमा बसिरहँदा सरकारको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रन्छ । नागरिकमा निराशा बढेर जान्छ ।”
तर नेकपा एमालेका नेताहरुले लेखा समितिका सभापतिसहित नेकपा एमालेका नेताहरु मुछिएको घटनालाई भने ढाकछोप गर्दै आएका छन् ।
विपक्षमा रहेका रास्वपाका एक सांसदले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा भने, “हामीलाई एमालेका नेता तथा सांसदहरूले पनि गृहमन्त्रीको राजीनामा चर्कोसँग उठाउनू भन्नुभएको छ । एमालेका नेताहरूसँग हामी निरन्तर छलफलमै छौँ ।”