
काठमाडौं । पाँच वर्षअघि सेलरोटी बनाएर बेच्ने योजनाबाट सुरू भएको व्यवसाय अहिले हरिलो एग्रो इन्डष्ट्रीमा परिणत भएको छ । त्यो बेला कोभिड–१९ का कारण देश लकडाउनमा थियो । पोखराकी रोशनी शर्मालाई नयाँ काम गर्ने जोश चल्यो ।
उनले श्रीमानसँग नयाँ व्यवसाय गर्ने कुरा चलाइन् । उनका श्रीमान् प्रकाश आचार्यले उनलाई चाहेको व्यवसाय गर्न सुझाव दिए । तिहारको बेला थियो । उनले सेल रोटी बनाएर बजारमा बेच्ने सोच बनाइन् । श्रीमानले पनि हुन्छ भने ।
“लक डाउनको समयमा के काम गर्ने भनेर घरमै बसेकी थे,” रोशनीले बाह्रखरीसित भनिन्, “यही समयमा मैले सेल रोटी बनाएर बेच्ने सोच बनाए । श्रीमान्ले पनि हुन्छ भन्नुभयो ।”
यो सन् २०१९ तिरको कुरा हो । रोशनी र उनका श्रीमान् प्रकाशले शुन्यबाट काम सुरु गरे । तर, सेल रोटीसँगै लोकल अचारको पनि माग आउन थाल्यो । उनीहरूले फेसबुकमा विज्ञापन बनाएर पोष्ट गरेकै कारण माग बढेको थियो ।
फेसबुकमा पोष्ट्याएकै विज्ञापनका कारण उनीहरूले बजारको माग धान्न सकेनन् ।
उनीहरू मोबाइल फोन नै आफ गरेर बस्नु पर्ने स्थिति आयो । “व्यवसाय सुरू कसरी गर्ने भन्ने थियो । तर, काम सुरू गरेपछि माग धान्नै सकिएन । हाम्रो त स्रोतसाधन ठूलो थिएन,” रोशनीले भनिन् ।
सेलरोटी बनाउँदै आएको यो जोडिले अचार बनाएर बेच्ने सोच बनायो । आफूहरूले बनाएको अचार पनि बजारमा माग बढ्न थाल्यो । उनीहरूले अचार बनाउने कच्चापदार्थ खरिद गर्न थाले । अचार बनाउनका लागि आवश्यक मेसिन खरिद गरे ।
यसैबीचना स्थानीय सरकार र केन्द्रीय सरकारले दिएको सुविधा उपभोग गरेर हरिलो एग्रो इन्डष्ट्री दर्ता गरे । महिला उद्यमशील कर्जा बैंकहरूले दिने जानकारी पाएपछि बैंकबाट १५ लाख रुपैयाँ ऋण लिए ।
बैंकबाट लिएको ऋण हरिलो एग्रोमार्फत व्यवसाय विस्तारमा नै खर्च गरे । अचार बनाउने मेसिन, भाडा तथा प्याकेजिङ गर्ने मेसिन खरिद गर्ने काम गरे ।
एक बैंकबाट लिएको १५ लाख रुपैयाँ ऋण उनीहरूले तिरे । यो बेलासम्म एग्रोले एउटा लेबल बनाइ सकेको थियो ।
हरिलो एग्रोले उत्पादन गरेका चिकेन तथा बफ सितन, बफ सुकुटी, चिकेन अचार, डल्ले खुर्सानीका उत्पादन, गुन्द्रुकको अचार र छोपहरू विदेश पनि जान थालेको थियो । विदेशमा बस्ने नेपालीहरूले हरिलोका उत्पादन माग गरे ।
हरिलोले चालु आर्थिक वर्षमा पाँच करोडको कारोबार गर्ने लक्ष्य राखेको छ । गतवर्ष साढे दुई करोडको कारोबार गरेको हरिलो एग्रो इन्डष्ट्रिकी सञ्चालक रोशनी बताउँछिन् । हरिलोले आफ्ना उत्पादन भाटभटेनी, बिग मार्टजस्ता चेनमार्टमा पनि राखेका छन् ।
यीबाहेक देशभर डिलर विस्तार गर्ने सोचका साथ काम गरे । मार्ट र डिलरहरूले सामान बिक्री गरेर मात्रै पैसा दिने भएकाले सामान किन्न र सप्लाई बढाउन अझ पैसा आवश्यक पर्यो । व्यवसायलाई बढाउन र आवश्यकता पुरा गर्न नबिल बैंकबाट ऋण लिने सोच बनाए ।
नबिल बैंकले पनि हरिलोको बारेमा बुझ्यो र यसको योजनालाई स्वीकार गर्यो । नबिलले दुई करोड रुपैयाँ ऋण दियो । यो ऋण चालुपुँजीमै खर्च भएको आचार्य बताउँछन् ।
“नबिल बैंकले हाम्रो प्रस्ताव स्वीकार गरेर व्यवसायलाई विस्तार गर्न सहयोग गर्यो । साना तथा मझौला कर्जाअन्तर्गत हामीले दुई करोड ऋण लिएका छौं,” प्रकाशले बाह्रखरीसित भने, “हामीले बैंकको किस्तालाई पहिलो प्राथमिकतामा राख्छौं । जति नै समस्या परे पनि किस्ता समयमै तिर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
हरिलो एग्रोले २३ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कम्पनीले उत्पादन गर्ने अचारहरू स्थानीय बजारमा नै उपलब्ध साग, मासु, डल्ले खोर्सानीबाट बन्छन् । बफ सितन र सुकुटीका लागि ठूलो मात्रामा मासु खपत हुने गरेको छ । हरिलो एग्रोले उत्पादन गरेका अचार तथा सुकुटी विदेशमा पनि माग बढेको आचार्य बताउँछन् ।
नबिल बैंकले अहिले साना तथा मझौला कर्जामा विस्तार बढाएको छ । नबिल बैंकले अहिले साना तथा मझौला कर्जामा ध्यान केन्द्रित गरेको छ । बैंकले प्रदान गर्दै अएको साना तथा मझौला कर्जा बढ्दै गएको छ ।
दुई करोडसम्मको साना तथा मझौला कर्जाका कारण नयाँ–नयाँ उद्यमीहरू बजारमा आएको नबिल बैंकका प्रमुख व्यवसाय अधिकृत टेकराज भट्ट बताउँछन् ।
“विद्यमान आर्थिक परिस्थितिका कारण नयाँ कर्जाको माग न्यून भए पनि उद्यमसीलतालाई प्रबद्र्धन गर्न नबिलले आफ्ना २६८ वटै शाखाहरुबाट साना तथा मझौला कर्जा प्रवाहमा थप केन्द्रित हुन निर्देशन दिएका छौं,” उनले भने ।
तुलनात्मक रूपमा आएको मागमा ह्रास र आर्थिक मन्दीका कारणले व्यापार व्यवसाय संकुचित हुँदा खराब कर्जाको मात्रा पनि बढ्न गइ त्यतातिर ध्यान पुर्याउनु पर्ने अवस्था छ ।
नबिल बैंकले साना तथा मझौला कर्जा सहज रूपमा दिँदै आएको भट्ट बताउँछन् ।
“साना तथा मझौता कर्जा लिन कर्जाको आवेदन दिँदा आवश्यक सम्पूर्ण कागजातहरु दिइ सकेपछि बढीमा ७ देखि ९ कार्यदिनभित्र कर्जा स्वीकृत हुने व्यवस्था गरेको छ । कागजातहरु निर्माण गर्न समय लाग्ने हुँदा हामीले वित्तीय साक्षारतालाई पनि सँगै लगेका छौं,” भट्टले भने, “साना तथा मझौला कर्जा विस्तारमा केन्द्रीय बैंकको नीतिले पनि दुई करोडसम्म कर्जा प्रवाह गर्नुपर्ने हुँदा हामीलाई प्रोत्साहित नै गरेको छ ।”
राष्ट्र बैंकले तोकेको साना तथा मझौला कर्जाको मापदण्डअनुसार नै नबिलले हहिले यस्ता कर्जा दिँदै आएको उनी बताउँछन् ।