
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ इरान र ताजिकिस्तानसहित कूटनीतिक अभियानअन्तर्गत चार देशको पाँचदिने भ्रमणमा निस्किएका छन् । गएको फेब्रुअरीमा उनले अजरबैजान र एक महिनाअघि अप्रिलमा टर्कीको भ्रमण गरेका थिए । यो हप्ता उनी फेरि यी दुवै देशको भ्रमणमा गएका छन् ।
शरीफले बिहीबार र शुक्रबार ताजिकिस्तानमा वार्ता गर्नेछन् । उनी एक्लै होइनन्, शरीफसँग सेनाप्रमुख आसिम मुनिर (हालै पाकिस्तानको दोस्रो फिल्ड मार्सल नियुक्त) र उपप्रधानमन्त्री इशाक दार पनि साथमा छन् ।
पाकिस्तान र भारतबीच चारदिने तनावपूर्ण स्थितिपछि दुई हप्ताभन्दा बढी समय बितेको छ । यसबीचमा भारतले विश्वव्यापी कूटनीतिक अभियान सुरु गरेर ३० भन्दा बढी देशमा सांसदको प्रतिनिधिमण्डल पठाएको छ । यसले पाकिस्तानलाई भारत र भारत–नियन्त्रित कश्मीरमा आक्रमणका निम्ति जिम्मेवार आतंकवादी समूहलाई समर्थन गरेको आरोप लगाएको छ ।
“हामी विश्वलाई सीमापार आतंकवादका निम्ति जिम्मेवार, जसले ४० वर्षदेखि भारतविरुद्ध यो गरिरहेको छ, त्यो पाकिस्तानलाई जवाफदेही ठहर्याउन आग्रह गर्छौं । उनीहरूका कार्यहरूलाई निन्दा गर्न आवश्यक छ,” भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैस्वालले गएको हप्ता भनेका थिए ।
गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरको पहलगाम हिल रिसोर्टमा बन्दुकधारीले २६ पर्यटकको हत्या गरेका थिए । यो वर्षौंपछि आमनागरिकमाथि गरिएको सबैभन्दा खराब आक्रमण थियो ।
भारतले यसको दोष द रेजिस्टेन्ट फ्रन्टलाई लगाएको छ । त्यो समूह पाकिस्तानमा अवस्थित जैस–ए–महोमदसँग जोडिएको भन्ने आरोप छ । संयुक्त राष्ट्रसंघले यसलाई आतंकवादी समूह घोषणा गरेको छ । भारतले पाकिस्तानलाई यो आक्रमणमा उसको भूमिका रहेको आरोप लगाएको छ । तर, पाकिस्तानले आरोप अस्वीकार गर्दै पारदर्शी, विश्वसनीय, स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।
त्यसपछि मे ७ मा भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरका केही भागमा आतंकवादी ढाँचा भनिएका लक्ष्यमा मिसाइल हमला गर्यो । पाकिस्तानले मिसाइलबाट नागरिक, मस्जिद र विद्यालयलाई निसाना बनाइएको दाबी गर्यो । भारतीय मिसाइल हमलामा कम्तीमा ११ सुरक्षाकर्मीसहित ५० भन्दा बढी मानिसको मृत्यु भयो ।
त्यसपछि ड्रोन घुसपैठ भयो । र, मे १० मा दुवै पक्षले एकार्काका सैन्य अड्डामा मिसाइल दागे । त्यसपछि उनीहरू पूर्ण युद्धको सँघारमा पुगेका थिए । अमेरिकाले मध्यस्थता गरेको भनिएको युद्धविराममा सहमत भएपछि तनाव केही कम भएको छ ।
यति बेला पाकिस्तानले भारतको ‘न्यारेटिभ’ संसारका अगाडि उल्ट्याउन खोज्दै छ । अधिकारी र विश्लेषक भन्छन्– भारतलाई तनाव बढाउन खोज्ने आक्रामकका रूपमा चित्रण गर्दै आफूलाई दक्षिण एसियामा शान्ति र स्थिरता पक्षधर प्रस्तुत गरिरहेको छ ।
‘शान्ति चाहन्छौँ’
बुधबार शरीफले भारतले पूर्ण इमानदारीसाथ प्रतिक्रिया दिने हो भने सबै मुद्दामा ऊसँग कुराकानी गर्न इच्छुक रहेको बताए । अजरबैजानको लाचिनमा त्रिपक्षीय शिखर सम्मेलनमा उनले भारतले आतंकवादसहित सबै मुद्दामा सहयोग गरे व्यापार फेरि सुरु हुन सक्ने उल्लेख गरे ।
“मैले नम्रतापूर्वक भनेको छु कि हामी क्षेत्रमा शान्ति चाहन्छौँ र यसले तत्काल ध्यान दिनुपर्ने र मैत्रीपूर्ण समाधान गर्नुपर्ने मुद्दामा कुराकानीको आवश्यकता छ र संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्को प्रस्तावानुसार र कश्मीरको जनताका आकांक्षाअनुसार कश्मीरको मुद्दा हल गरिनुपर्छ,” उनले भने ।
सन् १९४७ मा स्वतन्त्रतादेखि उत्तरपूर्वी उपमहाद्वीपको सुन्दर उपत्यका कश्मीर यी दुई परमाणु शक्तिसम्पन्न राष्ट्रबीचको द्वन्द्वको कारण बनेको छ । सन् १९४८ को संयुक्त राष्ट्रसंघको प्रस्ताव थियो– कश्मीरको भविष्य निर्धारण गर्न जनमत सर्वेक्षण गर्ने । तर, यो सम्भव भएको छैन ।
भारत र पाकिस्तान दुवैले कश्मीरका केही भाग नियन्त्रण गर्छन् । दुई साना क्षेत्रमा चीनको नियन्त्रण छ । भारतले सम्पूर्ण क्षेत्र दाबी गर्छ । पाकिस्तानले भारतले प्रशासन गरेको भाग दाबी गर्छ । पाकिस्तान चीनले कब्जा गरेको क्षेत्र भने दाबी गर्दैन ।
विपरीत कूटनीति
पाकिस्तानको कूटनीतिक प्रयासलाई अरू विषयले पनि डोर्याइरहेको अधिकारी र विज्ञ बताउँछन् ।
भारतको कूटनीतिक प्रतिनिधिमण्डल हाल विश्वका विभिन्न देशको भ्रमणमा छ । उक्त टोलीमा सत्तारूढ भारतीय जनता पार्टी, विपक्षी भारतीय राष्ट्रिय कांग्रेसलगायत राजनीतिक दलका सदस्य सहभागी छन् । त्यसले राष्ट्रिय एकता प्रस्तुत गर्छ ।
यसविपरीत पाकिस्तानको हालको ‘मिसन’मा राज्यका शीर्ष अधिकारीहरू छन् । प्रधानमन्त्री शरीफ र सेनाप्रमुख मुनिर त्यो टोलीमा छन् । उनीहरू देशको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छन् ।
विश्लेषक भन्छन्– यो भ्रमणले रणनीतिक साझेदारी पनि देखाउँछ । यसमा टर्की एक प्रमुख रक्षा साझेदार हो, किनभने हालैको द्वन्द्वमा पाकिस्तानले उसको ड्रोन प्रयोग गरेको थियो ।
“पाकिस्तानको टर्कीसँगको रक्षा सहयोग गहिरो छ,” अल्बानी विश्वविद्यालयका राजनीति विज्ञानका सहायक प्राध्यापक क्रिस्टोफर क्लेरीले भने ।
“प्रमाणले के देखाउँछ भने हालैको झडपमा टर्कीमा बनेका धेरै हतियार प्रयोग भएका थिए, जसको प्रभावकारिता फरक–फरक थियो । त्यसैले यी दुई देशहरूबीच धेरै कुराकानी हुनेछ,” उनले अलजजिरासित भने ।
पूर्वरक्षामन्त्री खुर्रम दस्तगीर खान अर्को महिना अमेरिका, बेलायत र ब्रसेल्समा युरोपियन युनियनको मुख्यालय भ्रमण गर्ने पाकिस्तानी प्रतिनिधिमण्डलको सदस्य हुनेछन् । “हालैको युद्धमा पाकिस्तानले कसरी लड्यो भन्नेमा धेरैको अपार रुचि छ,” खानले भने ।
“केही देशहरू पाकिस्तानले कुन क्षमता प्रयोग गर्यो र भारतसँग के क्षमता थियो भन्ने विवरण जान्न गहिरो रुचि राख्छन्,” उनले थपे, “यसले पाकिस्तानी सैन्य बलहरूलाई अरूलाई प्रशिक्षण दिन नयाँ रणनीतिक सम्भावना खोल्छ । हामी युद्ध–परीक्षाबाट गुज्रेका छौँ । यसले हामीलाई यो क्षेत्रमा मात्र नभएर विश्वभर माग गर्ने अवस्था बनाउँछ ।”
पाकिस्तानले चीनबाट आयातित हतियारमा ठूलो निर्भरता देखायो । भारतविरुद्ध प्रयोग गरिएका लडाकु विमान र मिसाइलहरू र भारतीय मिसाइलबाट आफूलाई बचाउन प्रयोग गरिएका वायुरक्षा प्रणाली पनि त्यसमा समावेश थिए ।
द्वन्द्वपछिको युद्ध न्यारेटिभ
द्वन्द्वपछि दुवै देशले विजयको दाबी गरेता पनि सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा न्यारेटिभको युद्ध जारी छ ।
पाकिस्तानले ६ भारतीय विमान खसालेको दाबी गरेको छ । यसलाई भारतले न पुष्टि गरेको छ न त अस्वीकार । अर्कोतर्फ, भारतीय मिसाइल पाकिस्तानी भूभागको गहिराइसम्म पुग्दा त्यहाँको वायुरक्षा प्रणालीको कमजोरी उजागर भयो ।
भारतले पाकिस्तानका निम्ति महत्त्वपूर्ण ६ दशक पुरानो सिन्धु जल सम्झौता निलम्बन गरेको छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानीलाई आतंकवाद त्याग्न आग्रह गर्दै भने, “कि शान्तिको जीवन बाँच, आफ्नो रोटी खाऊ, नत्र हाम्रो गोली खान तयार होऊ ।” यो उनले गुजरातमा दिएको भाषणमा भनेका थिए ।
उनले सिन्धु जल सम्झौतालाई ‘खराब’ भनेर आलोचना गर्दै भारत यसबाट पीडित भएको जिकिर गरे ।
क्वायद–ए–आजम विश्वविद्यालयका शैक्षिक र सुरक्षा विश्लेषक मुहम्मद शोएबले मोदीको यो बयानलाई ‘अतिवादी राष्ट्रवाद’ भनेर टिप्पणी गरेका छन् ।
युद्धविराम कायम, तनाव बाँकी
चारदिने द्वन्द्वले दुवै देशलाई युद्धको सँघारमा पुर्यायो । मे १० मा घोषित युद्धविराम कायमै छ । र, सैनिकहरू बिस्तारै शान्तिकालीन स्थितिमा फर्कंदै छन् ।
अमेरिकाको जर्ज मेसन विश्वविद्यालयका शोधकर्ता पनि रहेका शोएबले भने, “शत्रुता सुरु गर्नु जोखिमपूर्ण छ । कुनै पनि पक्ष आफू गैरजिम्मेवार देखिन चाहँदैन । यो टुट्नका निम्ति ठूलो घटना चाहिन्छ ।”
इस्लामाबादस्थित पूर्वसैन्य अधिकारी र शोधकर्ता तुग्राल यामिनले कूटनीतिले कुनै ग्यारेन्टी दिन नसके पनि युद्धविराम टिक्न सक्ने बताए । “भारतले के देखिसकेको छ भने पाकिस्तान सजिलो लक्ष्य होइन । यसको पारम्परिक र परमाणु निवारक क्षमता छ,” उनले भने, “दुवै पक्ष सतर्क रहनेछन् र पाकिस्तानले द्वन्द्वमा देखापरेका कमजोरी समाधान गर्नुपर्छ ।”
क्लेरीले भारत–पाकिस्तान सम्बन्ध कमजोर नै बने पनि तीव्र संघर्षपछि शान्तिकाल आउने आशा व्यक्त गरे । “अर्को केही महिनाका निम्ति दुवै देश र अन्तर्राष्ट्रिय पर्यवेक्षक आशावादी हुनु राम्रो हो । तर, नराम्रो परिस्थितिको तयारी पनि गर्नुपर्छ,” उनले भने ।
तर, पूर्वमन्त्री खानले भने, “भारत सरकारको नयाँ नीति सानो घटनापछि पनि प्रमाणको पर्खाइ नगरी पाकिस्तानमा आक्रमण गर्ने हो । यसले सम्पूर्ण क्षेत्रलाई तनावमा राख्छ । यो ‘ट्रिगर–ह्यापी’ नीतिले मात्र पाकिस्तान नभएर सम्पूर्ण विश्वलाई चिन्तित बनाउनुपर्छ ।”