site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भट्टराई बन्धुको चिठी मोह

पहिलेपहिले मानव मनका भावसहित हालखबर आदानप्रदान गर्न घरदेखि टाढा हुँदा चिठीपत्रको प्रयोग गरिन्थ्यो । चिठीपत्रको प्रचलन धेरैअघिदेखि भएको पाइन्छ । परम्परित लोक मान्यतानुसार माइतीले तिजमा चेलीहरूलाई डाक्नकोे लागि कागमार्फत चिठी अथवा खबर पठाउँथे भनिन्छ । अनि, चेलीहरूले पनि ‘कागजुका चिर्कटाले जान्न बरिलै’ भन्दै जवाफ फर्काउँथे भन्ने जनविश्वास छ ।

यस्तै, चिठीको माध्यमबाट परदेश पढ्न गएको छोराले पनि ‘पैसा पठल त पढल पैसा नपठल त भकल मरल’ भनी आफ्नो कुरा व्यक्त गर्दथ्यो भन्ने एउटा लोकोक्ति नै छ । संसार चिनाउने नाममा एघार वर्षकी छोरी इन्दिरा गान्धीलाई जवाहरलाल नेहरूले बेजोड प्रस्तुतिसाथ कालजयी चिठी (लेटर्स फर्म अ फादर टु हिज डटर) लेखे ।

यसैक्रममा नेपालमा पनि चरम गरिबी र दयनीय अवस्थाका मानिसका बारेमा जानकारी गराउन उनीहरूले लगाएको कपडाको पार्सल पठाउँदै कृष्णप्रसाद कोइरालाले चन्द्रगञ्जबाट काठमाडौं सिंहदरबारमा प्रधानमन्त्री चन्द्रशमशेरलाई चिठी पठाएका थिए । यसरी परम्परित रूपमा चिठीको लेनदेन भइरहेको थियो ।

अहिले युग बदलिएको छ । जगत् भूमण्डलीकरण भएको छ । इन्टरनेटले आफ्नो साम्राज्य स्थापित गरेको छ । मोबाइलको सन्देश र इमेलले चिठीलाई सम्पूर्णतः विस्थापित गरिदिएको छ । नौलो मानेका छन् अहिलेका पुस्ताले चिठी पत्रलाई ।

यदि, चिठी लेख्ने परम्परा कायमै रहेको हुन्थ्यो भने मनका भाव आज झन् बढी अक्षरसँग मिलेर आउने थिए होलान् । त्यसमा केही न केही साहित्य अवश्य मिसिने थियो ।

तर, अहिले म्यासेज अंकगणितको हिसाबजस्तो भएको छ । जे हो त्यही मात्र लेखिन्छ । तथापि, ‘यदि तिमी भविष्यको खोजीमा छौ भने इतिहास पढ’ भन्ने उक्तिसँगै गोविन्दराज भट्टराईको जीवनसँग जोडिएका चिठीपत्रले आज आएर एउटा पुरानो समय सम्झाएको छ ।

तत्कालीन समयको सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक पक्षका अनेक कुरा केलाउन सकिन्छ । नेपालबाट भाइ गोविन्दराज भट्टराईले बनारस बस्ने दाजु तुलसी भट्टराईलाई लेखेका चिठीपत्रको संग्रह — जसमा २०३१ देखि २०५३ सम्मका चिठीहरू समाविष्ट छन् ।

यसरी चिठीपत्रको कृति बनेर हामी पाठकमाझ एक निश्चित कालखण्डले मूर्तता लिएको छ । चिठीको भूगोल कहिले झापाबाट त कहिले बग्दै विराटनगर अनि काठमाडौं हुँदै बनारस पुगेको छ । झ्याप्प हेर्दा यो केवल दाजुभाइको पारिवारिक चिठी मात्र न हो जस्तो लाग्छ । तर, यसको आन्तरिकतामा अस्तित्व बोधको गहिरो जीवनदर्शन छ । साथै, समाजको स्पष्ट प्रतिविम्ब पनि ।

चिठीको पहिलो पृष्ठमा दाजुसँग साहित्यको जानकारी लिने र दिने प्रसंग छ । सामान्यतया चिठीपत्रहरूमा सन्चो बिसन्चो र हालखबर सोधिएको हुने गर्छ । तर, भट्टराईका पत्रमा भने साहित्यिक चिन्तन ज्यादा छ । अनि, सामाजिक परिवेश पनि झल्किएको छ ।

यसमा कला, संस्कृति र साहित्य आएको छ । यी केवल कोरा कागज र शब्दका शृंखला मात्र होइनन् । यसमा जीवनदर्शनका स्तम्भ पनि छन् । दाजुभाइबीच मेलमिलापको एउटा सुन्दर दृष्टान्त पनि रहेको छ । अरू पनि धेरैथोक रहेको छ ।

महान् त मलाई दाजु तुलसी भट्टराई लागे । चिठी प्राप्त भइसकेपछि पढेर फाल्न पनि सकिन्थ्यो, अपितु यसलाई दशकौँसम्म जोगाएर पुस्तकाकारको रूप दिई उहाँले हामी पाठकसमक्ष ल्याउनुभएको छ । यो चानचुने कुरा होइन । दाजु घरको स्तम्भ हुनुहुँदो रहेछ भन्ने कुरा यहाँ प्रस्ट हुन्छ ।

तुल्यतुल्य छन् दाजु र भाउजू गोविन्दराज भट्टराईका दृष्टिमा । हरेक चिठीमा उनले भाउजूको स्वास्थ्य र परीक्षाको विशेष ख्याल गरेका छन् । बदलिँदो सामाजिक तथा राजनैतिक परिवेशमा त महिला विभेदविरुद्ध अहिलेसम्म चर्का नारासहित निरन्तर आन्दोलन जारी छ, तर त्यो विभेद यी चिठीमा कहीँ छैन । आखिर समाजले कलंक मानेको विभेद आफैँबाट हटाउने चिज न हो ।

चिठी पढ्दै जाँदा सबै परिवारलाई छाता ओढाउने क्षमता भएका कर्मवादी गोविन्दराज भट्टराई आफ्नो मात्र प्रगति नसोचेर आफ्ना सबै परिवारको कल्याण सम्झने पात्र रहेछन् । कमल दाइ प्रवेशिका परीक्षमा उत्तीर्ण हुँदा मन नाचेको कुरा उनले प्रकट गरेका छन् ।

भाइ गोविन्दले दाजुका दुःखसुखमा चासो राखी सानोतिनो भए पनि आफूले सक्दो मद्दत गरेका छन् । ‘दहमै ढुंगो भएता पनि केही खाँचो टर्लाको आशाले पठाउने काम गरेको छु’ (पृ.१५) भन्दै काठमाडौंदेखि पठाएका छन् १०० रुपैयाँ ।

‘गाई भए गोरस भाइ भए भरस’ भन्ने उखानलाई भट्टराईले चरितार्थ गरेका छन् । दाजुप्रतिको माया, सद्भाव र स्नेह कति उदाहरणीय छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ उनले २१ वर्षकै उमेरमा ‘मुगलान’ उपन्यास लेखेका छन् । अनि, ठूला साहित्यकारसँग आफ्नो कृतिबारे रायसल्लाह र सुझाव लिन तत्पर छन् ।

जसरी हामी प्रतिष्ठित व्यक्तिसँग परिचय हुँदा वा भेट्दा खुसी हुन्छौँ, त्यसरी नै उनले पनि माधव घिमिरे तथा पारिजातलाई भेट्दाको खुसी चिठीमा व्यक्त गरेका छन् । आखिर मान्छेको संवेदना त एउटै हुँदो रहेछ ।

त्यति सानो उमेरमै उनी दौडधुपमा छन्, ठाउँठाउँमा घँुडो र मुन्टो गरेर साहित्यमा आफूलाई स्थापित गराउनका लागि । शब्द ब्रह्म हो, यही शब्दबाट नै लेखकहरू पाठकसमक्ष चिनिन्छन् । त्यसैले त भनिन्छ–
स्वगृहे पूज्यते मूर्ख : स्वग्रामे पूज्यते प्रभु
स्वदेशे पूज्यते राजा : विद्वान सर्वत्र पूज्यते

(राजालाई उसको साम्राज्य जहाँसम्म फैलिएको छ त्यहाँसम्म पुजिन्छ भने विद्वान् सर्वत्र पुजिन्छ ।)

पुजिएका छन् गोविन्दराज भट्टराई नेपालमा मात्र नभएर देश–विदेशमा पनि । पढिन्छन् उनी सबैतिर । कडा परिश्रम र संघर्षशील व्यक्तित्व भएका भट्टराई वर्तमान समयमा एक सशक्त साहित्यकार हुन् । इमानदारीका साथ सानासाना कुरा पनि दाजुलाई सुनाउनुपर्ने उनको बानी नै रहेछ ।

उनले दाजुलार्ई ब्रह्मा, विष्णु, महेश्वर मानेको पाइन्छ । आजका मान्छेले पनि यसरी नै दाजुभाइबीचको सम्बन्धमा यस्तै सद्व्यवहार, सदाचार राखून् भन्ने कामना छ ।

सिर्जनशील व्यक्तिलाई रचनात्मक कामबेगर समय यसै बितिहाल्छ कि भन्ने कस्तो पीर हुँदो रहेछ ! त्यो पीर भट्टराईमा एकदम धेरै रहेको देखिन्छ । जसरी भारतीय कवि कवीरदासले भनेका छन्, ‘कल करे तो आज कर, आज करे सो अब ।’ प्रस्तुत उक्तिसँग उनी सहमत हुँदै त्यसलाई आत्मसात् गरेका छन् ।

काठमाडांैमा ट्युसनको टुर्रे झोलमा आफू डुबे तापनि, आम्दानीभन्दा खर्च बढी भए तापनि उनलाई दाजुको छोरा वनस्थलीमा पढाउने धोको छ । आजका मान्छे व्यक्तिकेन्द्रित हुँदै गएका छन्, न कि परिवारकेन्द्रित । तर, उनी परिवारकेन्द्रित छन् ।

काठमाडौंको महँगीसँग सम्झौता गर्दै, दन्तमन्जन सकिएर नुनले दाँत मोल्न परे तापनि, उसिनेका चामल खान परे तापनि, अनेकौँ परिस्थितिहरूलाई कोलमा पिसेर संघर्ष गर्ने उनी कति प्रखर छन् ।

सकारात्मक मनस्थिति बनेपछि जस्तोसुकै अवस्था पनि टर्दो रहेछ । सोच्दै छु म, कसरी चलेका छन् खर्च बढी आम्दानी कम हुँदा पनि ? जीवनसँग अधैर्य गरेर अहिलेको पुस्ता अभिभावकले सबै व्यवस्था गरिदिँदा पनि नेपालमा केही छैन भन्दै बाहिरिनेको संख्या दिनानुदिन बढिरहेको छ । आखिर के छैन नेपालमा ?

कठोर संघर्षले नै जीवनका कैयौँ सम्भावनाहरू खुल्दा रहेछन् । त्यसै भएर भारतीय कवि हरिवंश राय बच्च्नले आफ्नो कवितामा भनेका छन्–
... मिलते नही सहज हि मोती गहरे पानीमे,
   मुठ्ठी उसको खाली हरवात नही होती ।
... कोशिष करने वालोकी कभि हार नही होती ।। 

पत्र प्रेषक गोविन्दराज भट्टराई कहिले झापा र कहिले काठमाडौंमा पढ्दै र पढाउँदै समयका गल्छेडाहरूलाई परास्त गर्दैगर्दा उनमा पूर्ण रूपमा आत्मविश्वास बढेको पाइन्छ । दृढ इच्छाशक्ति र अथक साधनाले मात्रै मान्छेलाई शिखरमा पुर्‍याउँदो रहेछ । यसैले त भट्टराई ज्ञानका महारथी बन्न पुगेका छन् ।

आखिर हिमाल चढ्नलाई फेदबाटै सुरु गर्नुपर्छ अनि मात्र माथि पुिगन्छ र क्षितिजको रमणीय दृश्य देखिन्छ । खै आजका पुस्ताले संघर्ष गरेको ? तयारी खाना रेडिमेड जीवनशैलीको खोजीमा छ आजको पिँढी ।

वास्तवमा यो पुस्तक प्रवेशिका (एसईई) दिइसकेका किशोरकिशोरीहरूले अध्ययन गर्नुपर्ने खालको छ । युवा मुलुकबाहिर जानुमा दोष कसको ? अभिभावकको ? सरकारको वा स्वयम् आफ्नै ?

व्यस्त जीवनशैलीका बाबजुद बराबर अग्रज मान्यजन तथा दाजुलाई पत्राचार गरेका छन् भट्टराईले । ‘डिग्रीको सगरमाथा टेक्नै लागेँ, त्यहाँबाट सगरमाथा चियाउन सकिएला ठान्थेँ तर यथार्थ अर्कै ...’ (पृ.६६) ।

यी र यस्तै शब्दहरूले सजिएका चिठीहरू पढ्दै जान्छु, अनि टक्क अडिन्छु । शब्दहरूको संयोजन अनौठो लाग्छ र शब्दभित्रै डुबिरहन्छु म । नयाँ शब्द र वाक्य संरचनाहरू सिक्न थाल्छु यस चिठीपत्रको अध्ययनमा ।

कस्तो कलात्मक प्रस्तुति छ लेखनमा । लेखनशैलीमा नेपालको पश्चिमी क्षेत्रको र वर्तमानकोे तुलनामा केही फरक पाएँ । विशेष गरी केही शब्दहरूमा त्यो देखिन्छ, जस्तै – थिएच, छुइनँ, जान नपाएको छ आदि ।

प्रवासको साहित्यमा पनि तुलसी भट्टराईको कलम समावेश होस्, किन्तु त्यो साहित्य ओजिलो र उन्नतिशील होस्— भाइ गोविन्दराजको निरन्तरको कामना यही छ ।

‘साहित्य खहरे होइन समुद्रजस्तो हुनुपर्छ’ (पृ.११०) भन्ने मान्यता राख्दै बारम्बार सम्झाउँदै दाजुका पाण्डुलिपिहरू प्रकाशन गर्नुपूर्व आफूले हेरेर मात्र प्रकाशन गर्ने सुझाव उनी व्यक्त गर्दछन् ।

नेपाली साहित्यमा तुलसी भट्टराईको आफ्नै व्यक्तित्व छ भने गोविन्दराज भट्टराईको पनि आफ्नै अलग पहिचान छ । दाजुभाइकै संग्रह निस्किँदा भट्टराई बन्धुले पुष्पहार पहिरिए सरी भएको र दुवै दाजुभाइको नाम नेपाली साहित्यको इतिहासमा लेखिँदा गौरवान्वित महसुस गरेका छन् गोविन्दराज भट्टराईले ।

एक ठाउँमा उनी भन्छन्, ‘यो पीएचडी पूरा गर्न पाए अर्को साइडतर्फ जीवनलाई बंग्याएर उडाउन मिल्ने थियो ।’ (पृ.१०१)

यस धोकोलाई दाजुभाइले नै पूरा गरेका छन् । जीवनको लक्ष्यप्रतिको लगाव, समर्पण, धीरता र आत्मविश्वास कति सबल छ । दाजुभाइबीचको प्रगाढता र सद्भाव अनि भट्टराई बन्धुको चिठीपत्रको महत्त्वले सबै पाठकवर्गलाई आकर्षित गरेको छ ।

‘आइमाई कुरा भए’ भन्ने वाक्यांशले तत्कालीन समयमा नारीलाई हेर्ने दृष्टिकोण र पुरुषप्रधान सोच हाबी भएको देखिन्छ । त्यसो भए कस्ता कुरालाई पुरुषका कुरा भन्ने त ? विद्वान् लेखकले यस्ता संवेदनशील कुरामा त्यो समयमा अलि विचार गर्न सकेको भए बेस हुन्थ्यो कि ?

बदलिँदो परिवेशमा लैंगिक समानताको सन्दर्भ जसरी उजागर भएको छ, त्यति बेला त्यो गहिराइमा पुग्न सायद सम्भव पनि थिएन होला ।

कुनै लामा, कुनै मध्यम र कुनै संक्षिप्त चिठीहरू पढ्दै गर्दा सुरुदेखि अन्त्यसम्म साहित्यकै चर्चा गरिएको छ । कुनै चिठी निबन्ध हो कि जस्तो पनि लाग्ने, कुनैचाहिँ नबुझिने छ । भाइ गोविन्दराज भट्टराईका चिठीहरू पढ्यौँ । अब दाजु तुलसी भट्टराईका प्रत्युत्तरका पत्र पनि पढ्न पाए हुन्थ्यो भन्ने खुलदुली जगायो यसले ।

ज्ञानका महारथी विद्वान् भट्टराईको सरलपन देखेर म नतमस्तक भएँ । त्यसै भएर होला, लेखनाथले नैतिक दृष्टान्तमा भनेका छन्– फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?

अन्त्यमा, यी चिठीपत्र पढिसकेपछि भन्न मन लाग्यो— प्रत्येक घरमा भट्टराई बन्धुका जस्तै दाजुभाइको सम्बन्धमा यस्तै आत्मीयता भइरहोस् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro