site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नयाँ मुगलान, रमरतिया, आफैंलाई खोज्दै

नयाँ मुगलान
(उपन्यास : गोविन्दराज भट्टराई)
प्रा. डा. गोविन्दराज भट्टराईको साहित्यिक सक्रियताको आकलन ५० वर्षअघि प्रकाशित उनको उपन्यास ‘मुगलान’को चर्चाबाटै गर्न सकिन्छ । उनको पहिलो उपन्यास ‘मुगलान’ २०३१ सालमा प्रकाशित भयो । र, पाठकमाझ चर्चित पनि । त्यसपछि उनले अंग्रेजी विषय प्राध्यापनसँगै नेपाली भाषासाहित्यको सिर्जना, समालोचना र अनुवादमा आफ्नो कलम चलाउँदै गए । यसरी उनले दर्जनौँ पुस्तक पाठकलाई दिए ।

‘मुगलान’ दिएको ठिक ५० वर्षपछि डा. भट्टराईले फेरि एकचोटि ‘नयाँ मुगलान’ उपन्यास पाठकलाई सुम्पिएका छन् । यो उपन्यास केही महिनाअघि मात्र सार्वजनिक गरिएको हो ।

‘नयाँ मुगलान’का सम्बन्धमा डा. भट्टराईले लेखेका छन्, “हामी यसपालि तमर कोरिडोर हुँदै धनकुटाको मूलघाटबाट पसेर फिदिम बजार पुग्यौँ । त्यहाँ जुन दृश्य देखियो सो कुरा ‘तमर कोरिडोरको बाटो त फिलिलि छ गुरूजी ।’ शीर्षक लेखमा छापियो । यी सबै परिस्थितिका भोगाइहरूले यो ‘नयाँ मुगलान’ जन्माएको हो ।”

किताबको पुछारका पृष्ठमा अनिता पन्थीले लेखेकी छन्, “एउटा सिंगो विद्यमानता दृश्यांकन गरिएको कृति हो ‘नयाँ मुगलान’ ।”

अनिता कोइरालाले लेखेकी छन्, “... कहिले नटुंगिने नेपालीहरूको हृदयविदारक कथा र व्यथाको अविश्रान्त यात्रा छ ‘नयाँ मुगलान’मा ।”

शशि भट्टराई श्रेष्ठले लेखेकी छन्, “... आफ्ना देशको भविष्य उपायहीन र भयप्रद देखेर आधुनिक नयाँ मुगलानको खोजीमा हिँडेका अशेष, शिवम् र कोपिलाजस्ता धेरै युवायुवतीहरू टाढा कतै सुन्दर सपनाको देशतिर अस्ताइरहेछन् ।”

महेश पौड्यालले लेखेका छन्, “२०३१ सालमा प्रकाशित गोविन्दराज भट्टराईको ‘मुगलान’ले घर छोड्नु तथा चरम दुःख र अन्योलको जिन्दगी बाँच्नुको ऐतिहासिक पीडालाई सतहमा ल्याएको थियो । आज, पचास वर्षपछाडि, यानी २०८१ सालमा आइपुग्दा पनि मुगलाने हुनु, घरबास छोड्न बाध्य हुनु र अन्योलग्रस्त भविष्यतिर लहसिनुको बाध्यता ज्यूँका त्यूँ छ । ... ।’

अनि, डा. व्यन्जना शर्माले लेखेकी छन्, “... भयानक यथार्थताभित्र लुकेको अन्तिम मुगलान मात्र हाम्रो विश्रान्ति धाम हो भन्ने चरम सत्यले मलाई झस्काइदियो । ... ।” (पृष्ठ १३५ देखि १३९ सम्म)

पेज टर्नरद्वारा प्रकाशित १४० पृष्ठको यो उपन्यासको मूल्य ३७५/– रुपैयाँ राखिएको छ ।

०००

रमरतिया
(कथासंग्रह : विनयराज गौतम)
कथाकार विनयराज गौतमको दोस्रो कथाकृतिका रूपमा हालै प्रकाशित पुस्तक हो, ‘रमरतिया’ । वीरगन्ज निवासी गौतमले त्यसै क्षेत्रका विषयवस्तुलाई कथामा समेटेका छन् । उनले यसअघि विभिन्न तीन पुस्तक पाठकसामु पस्किइसकेका छन् ।

गौतमले आफ्ना कुरामा लेखेका छन्, “मैले आफ्नो जीवनमा अनुभव र अनुभूत गरेका सामाजिक यथार्थहरूलाई नै कथाहरूका मार्फत अभिव्यक्त गर्ने कोसिस गरेको छु । नेपाली मेरो मातृभाषा भए पनि त्यसमाथि भोजपुरीको प्रभाव निकै रहेको छ । ... ।”

पुस्तकको भूमिकामा प्रा. डा. कुमारप्रसाद कोइरालाले लेखेका छन्, “... तेस्रो कृति रमरतिया कथासंग्रहमा पनि तराई मधेसकै सजीवन यथार्थ चित्र कोरिएको छ । ... ।”

यो संग्रहमा कुल १६ कथा पढ्न सकिन्छ ।

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित १६८ पृष्ठको यो पुस्तकको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।

०००

समयको नक्साबाहिर
(निबन्धसंग्रह : कृष्ण ढुङ्गेल)
साहित्यकार कृष्ण ढुङ्गेल साहित्यिक पत्रकारितामा पनि सक्रिय छन् । उनै साहित्यिक पत्रकार ढुङ्गेल निबन्धकृति ‘समयको नक्साबाहिर’सहित उपस्थित भएका छन् । उनको यसअघि ‘मिराज’ उपन्यास प्रकाशित छ ।

पुस्तकको ब्लर्बमा लेखिएको छ, “नेपालको सुदूरपूर्वी जिल्ला झापाको सेरोफेरोको सुन्दर पृष्ठभूमिमा उभिएको यस कृतिले अति सामान्यता, अभाव र भयलाई चिरेर एउटा मान्छे कसरी आत्मबलको सिँढी चढेर निरन्तर आत्मविश्वास र उचाइतिर उन्मुख हुनसक्छ भन्ने देखाउँछ ।”

यो किताबभित्र ढुङ्गेलका १५ निबन्ध समावेश छ ।

पेज टर्नरले बजारमा ल्याएको १९२ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।

०००

परिधि
(लघुकथासंग्रह : हरि थापा)
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका सर्जक हरि थापाको पछिल्लो कृति हो, ‘परिधि’ । यो उनको दोस्रो लघुकथासंग्रह हो । उनका यसअघि कथा, सयात्रा, गजल गरेर आठ पुस्तक प्रकाशित छन् ।

आफ्नो मन्तव्यमा थापाले लेखेका छन्, “लेख्न त नसकिने होइन छोटा लघुकथा । मैले पनि लेखिहालेँ एउटा छोटो लघुकथा, सुनारको व्यापार सधैँ नाफा ।’

प्रकाशन सन्दर्भमा साहित्यकार ध्रुव मधिकर्मीले लेखेका छन्, “लघुकथा अहिले सर्वाधिक लेखिने रचना भएको छ । धेरै स्रष्टाहरू यसप्रति आकर्षित छन् । संख्यात्मक रूपले मात्र होइन गुणात्मक रूपमा पनि कृतिहरू एकपछि अर्को प्रकाशित भइरहेका छन् । ... ।”

कृतिभित्र थापाले ५० लघुकथा पस्किएका छन् ।

सिर्जना अभियान समाज भक्तपुरद्वारा प्रकाशित ११० पृष्ठको यो पुस्तकको मूल्य २००/– रुपैयाँ राखिएको छ ।

०००

सेता भिर, यता पीर
(कवितासंग्रह : भोज अर्याल)
कवि भोज अर्यालको हालै प्रकाशित कवितासंग्रह हो, ‘सेता भिर, यता पीर’ । क्यानडामा बसोबास गर्दै आएका अर्यालको यो पहिलो कविताकृति हो ।

आफ्नो मन्तव्यमा उनले लेखेका छन्, “... यस पुस्तकमा समेटिएका कविताहरू मेरो सिर्जनशीलत यात्रासँगै जोडिएका कथा र गीतहरू पनि हुन्, जसलाई गायन कलामा जोडेर हेर्दा नयाँ भाकाहरू जन्मिने विश्वास रहेको छ । ... ।”

यो संग्रहभित्र ५२ कविता समावेश छ ।

साहित्यपोस्टद्वारा प्रकाशित ११० पृष्ठको यो कविताकृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

आफैंलाई खोज्दै
(निबन्धसंग्रह : ध्रुव जोशी)
ध्रुव जोशी मूलतः कृषि वैज्ञानिक हुन् । बितेको लामो कालखण्ड उनले कृषि क्षेत्रको विकास र उत्थानमा बिताए । तर, उनीभित्र रहेको साहित्यिक मनले कामभन्दा नितान्त पृथक् बाटोमा रहेर सिर्जना गर्न उक्साइरह्यो । फलतः उनले फुर्सदमा कविता र निबन्ध लेखे ।

उनै साहित्यकार ध्रुव जोशीको पहिलो निबन्धकृति केही समयअघि सार्वजनिक गरिएको छ, ‘आफैंलाई खोज्दा’ । उनको यसअघि नेपाली, हिन्दु, उर्दुका कविताकृति ‘अनुभूतिका महक’ प्रकाशित छ ।

पुस्तकमा आफूलाई खोज्ने प्रयासमा जोशीले लेखेका छन्, “मेरो यस निबन्धसंग्रहमा समेटिएका केही निबन्धहरूको रचनाकाल मेरो प्रोफेसनल करियरको सुरुआतका दिनहरू थिए । ... त्यो बेलाका मेरा रचनाहरू त्यस कालको बाछिटाले जताततै निथ्रुक्क बनाएको पाउनुहुनेछ । ... ।”

कृतिको भूमिकामा निबन्धकार माधव काफ्लेले लेखेका छन्, “राम्रो कुरा सधैँ नै ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ भनेझैँ राम्रो भएरै बस्ने रहेछ । खिया, धमिरा लागेर मासिने भनेकै कमजोर वस्तुमा रहेछ भन्ने दिव्यज्ञान मैले ध्रुवसरको निबन्धहरू पढेपछि थाहा पाएँ ।”

जोशीको यो कृतिभित्र १८ निबन्ध संगृहीत छ ।

सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित १२८ पृष्ठको यो निबन्धकृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ । 

०००

आमाको घर
(कविता संकलन : छत्रमान सुब्बा)
भारतको असम, तेजपुर क्षेत्रका नेपाली भाषी कवि तथा साहित्यकार छत्रमान सुब्बाको कविताकृति हो, ‘आमाको घर’ । उनका यसअघि कविता, खोजमूलक कृति, संस्कृति तथा अनुवादका पुस्तक समेत गरेर दर्जनौँ कृति प्रकाशित छन् । उनी अनुवादतर्फ भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त गर्ने साहित्यकार हुन् ।

आफ्ना कुरामा कवि सुब्बाले लेखेका छन्, “आमाको घर कवितासंग्रह मैले किन लेखेँ भन्ने कुरामा केही भन्नुपर्दा मलाई यस्तो अनुभव लाग्छ कि जति नै ठूलो घरसंसार भए पनि त्यो घर कहिल्यै आमाको नाउँमा परिचित हुन नसक्दो रहेछ । केवल बाबाको नामले आमाको नाउँलाई कि त छोपिबसेको हुन्छ कि त किनारीकृत पारेको हुँदो रहेछ । परन्तु आमा भएपछि मात्रै एउटा घर बनिने गर्छ त । ... ।”

पुस्तकमा शुभकामनामा प्रा. गोविन्दराज भट्टराईले लेखेका छन्, “छत्रमान सुब्बा हृदयमा कोमल भाव बोकेका, मस्तिष्कमा साहित्यको सुन्दर सपना भरेका एक अत्यन्तै ऊर्जावान् युवा रहेछन् । उनका गद्य सिर्जना र समीक्षादि पढेको हुँ तर यसपालि मात्र मलाई उनका गद्य कविता पढ्ने सुयोग मिल्यो । ... ।”

यो संग्रहभित्र कवि सुब्बाका ४० कविता पढ्न सकिन्छ ।

कृष्ण–नरमाया सुब्बा स्मृति न्यास, असमद्वारा प्रकाशित ६८ पृष्ठको यो पुस्तकको मूल्य २००/– भारु राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro