site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारुसँग स्थिर विनिमय दरको विकल्प खोज्न उच्चस्तरीय आयोगको सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले भारतसँगको स्थिर विदेशी विनिमय दर (फिक्सड पेग)को विकल्प खोज्न सुझाव दिएको छ । लामो समयसम्म एकै तहमा भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर रहेको, भारतसँग बढ्दो व्यापार घाटाका कारण अबको सुधारमा क्रमशः पुँजीगत खाता खोल्दै जान थालिएको स्थितिमा स्थिर विनिमय दरको विकल्पमा छलफल, अनुसन्धान र तयारी गर्नुपर्ने आयोगले सुझाएको छ ।

हाल नेपाल र भारतबीच १०० भारु बराबर १६० नेरु छ । स्थिर विनिमय दरका कारण डलरको मूल्य निर्धारण हुने गरेको छ । भारतमा डलर महँगो हुँदा नेपालमा पनि त्यसको असर पर्ने र सस्तो हुँदा नेपाली रुपैयाँ बलियो हुने गरेको छ ।

यस्तै, अयोगले आवश्यक भौतिक पूर्वाधारको निर्माण, जनशक्तिको विकास, उत्पादन लागत कम गर्दै अर्थतन्त्रको क्षमता अभिवृद्धि गरी नेपाली उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउने जसले गर्दा विनिमय दर अधिमूल्यन हुने स्थितिलाई रोक्न सकिने जनाएको छ ।

मौद्रिक र वित्त व्यवस्थापन कुशलतापूर्वक गरी समष्टिगत आर्थिक स्थिरता कायम गर्ने तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्न सकिएमा नेपाली मुद्रा बजारमा बलियो हुने तर्क आयोगको छ ।

वास्तविक विनिमय अधिमूल्यन हुन नदिने रणनीति लिनुपर्ने र यसका निम्ति मुद्रास्फीति कम दरमा राख्ने, उत्पादकत्व बढाउने र प्रचलित विनिमय दरको तहलाई आवश्यकताअनुसार परिवर्तन गर्न सुझाइएको छ ।

भारुसँगको स्थिर विनिमय दर लामो समयदेखि एउटै कायम भएकाले यसको परिमार्जनका विषयमा छलफल आवश्यक भएको राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बताए । लामो समयदेखि छलफल नहुँदा नेपालको विनिमय दर अधिमूल्य भएमा निर्यात कमजोर हुन्छ भन्ने आशय भएको उनको भनाइ छ । यद्यपि, बजारको आवश्यकताअनुसार मुद्रा बलियो र कमजोर दुवै हुने उनको तर्क छ । भारुसँग स्थिर विनियम दर भएका कारण कहिले डलरसँग अधिमूल्य र कम मूल्य हुने गरेको उनले बताए ।

यसरी भयो भारुसँग स्थिर विनिमय दर 
नेपालले हाल द्वैध विनिमय दर नीति अवलम्बन गरेको छ । नेरुको भारुसँग स्थिर र परिवत्र्य विदेशी मुद्रासँग खुला बजार विनिमय दर प्रणाली नेपालले अवलम्बन गरेको छ । नेरुको भारुसँगको स्थिर विनिमय दर प्रणाली ०१७ वैशाख १ गतेदेखि कायम हो ।

०४९ फागुन १ गतेदेखि नेरुको परिवत्र्य विदेशी मुद्रासँग खुला बजार विनिमयय दर पद्धति लागु छ । ०४९ फागुन १ गतेदेखि नेरुलाई चालु खाता कारोबारका निम्ति पूर्ण परिवत्र्यता प्रदान गरिएको हो ।

०१७ वैशाख १ पहिला नेरुको भारुसँगको विनिमय दर मूलतः बजारको माग र आपूर्तिअनुसार परिवर्तन भइरहन्थ्यो । खुला बजार विनिमय दर प्रणाली नेपालले अवलम्बन गरेको अवस्था थियो । द्वयमुद्रा प्रणाली थियो । नेपालमा नेपाली मुद्राका अतिरिक्त भारतीय मुद्राको व्यापक चलनचल्ती थियो । नेपाली अर्थतन्त्र ज्यादै पिछडिएको थियो ।

१९९४ मा नेपाल बैंक, २०१३ मा नेपाल राष्ट्र बैंक र २०१६ मा नेपाल औद्योगिक विकास निगम स्थापना भएबाहेकका वित्तीय संस्था थिएनन् । त्यस बेला वस्तु निर्यात सीमित थियो ।

व्यापारमा विविधता थिएन । खाद्यान्न तथा वनजन्य वस्तुमा नेपाल आत्मनिभर थियो । विदेशी विनिमय नियन्त्रणमा थिएन । व्यापारीले नै नेरु र भारु विनिमय दर निर्धारण गर्थे । विनिमय दर सधैँ अस्थिर रहने गर्थ्यो । सर्वसाधारण नागरिक तथा उद्योगी–व्यवसायीको पनि अस्थिर विनिमय दरका कारण सधैँ मर्कामा परेको गुनासो रहने गर्थ्यो ।

यही मौद्रिक अस्थिरताका कारण भारुको चलनचल्ती नेपालबाट हटाउन नीति निर्मातालाई चुनौतीको विषय बनेको थियो । नेपाली मुद्राको बाह्य मूल्यमा स्थिरता कायम नरहुन्जेल सर्वसाधारण नागरिकको नेरुमाथि आस्था बढाउने स्थिति थिएन । यही पृष्ठभूमिमा नेपालले ०१७ वैशाख १ मा भारुसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्ने नीति लिएको हो । यो नीतिको उद्देश्य प्राप्तिका निम्ति तोकिएको दरमा भारु असीमित मात्रामा एकतर्फीरूपले राष्ट्र बैंकले खरिद तथा बिक्री गर्ने व्यवस्था गर्‍यो ।

लगत्तै संस्थागत व्यवस्थाको थालनी गर्न ०१७ जेठ २० गते विदेशी विनिमय सटही नियन्त्रण ऐन, २०१७ जारी भयो । यो ऐनले विदेशी विनिमयमा कारोबार गर्न राष्ट्र बैंकसँग इजाजत पत्र लिनुपर्ने र बैंकले तोकेको दरमा खरिदर बिक्री गनुपर्ने व्यवस्था गर्‍यो । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ ले सो ऐनलाई विस्थापित गरेको छ ।

सन् १९९३ मा भारतले बजार विनिमय दर प्रणाली अवलम्बन गरेपछि उत्पन्न स्थितिमा नेपालले ०४९ फागुन १ देखि परिवत्र्य विदेशी मुद्रासँग खुला बजार विनिमय दर प्रणाली अँगालेको हो ।

नेपालले भारुसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्नुको प्रमुख कारण मौद्रिक स्थिरता रहेको देखिन्छ । ०१७ वैशाख १ देखि भारुसँग अवलम्बन गरिएको स्थिर विनिमय दर प्रणाली हालसम्म आइपुग्दा स्थिर नै राखिएको छ ।

नेपालले अवलम्बन गरेको विदेशी विनिमय दर प्रणाली समायोजन गरिने खालको छ । सोही कारण बीचमा विनिमय दरमा परिवर्तन भयो । तर, विनिमय दर प्रणाली विगत ६० वर्षसम्म यथावत् छ । ०१७ वैशाख १ गते भारु १०० को नेरु १६० निर्धारण गरिएको विनिमय दर घुमीफिरी सोही दर कायम छ । ६० वर्षपछि पनि प्रणाली र दर उही छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro