site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रतिगमन हुन नदिऔँ, संघीयता खारेज गरौँ’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन रोक्दै संघीयता खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

पाँचदिने काठमाडौंकेन्द्रित आन्दोलनको अन्तिम दिन बूढानीलकण्ठस्थित साप्रेढंगामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले भने, “प्रतिगमन हुन नदिऔँ, संघीयता खारेज गरौँ, त्यसका लागि स्थानीय स्तरमा पुगेर काम गरौँ ।” संघीयता संविधानमा प्रवेश गराइएको समयदेखि नै आफूहरूले विरोध गर्दै आएको स्मरण गराउँदै उनले अहिलेको आन्दोलनलाई अझ उचाइमा लैजान आवश्यक रहेको बताए ।

“संघीयताविरुद्धको आन्दोलनलाई जति उठाउनुपर्थ्यो, त्यति हुन सकेको छैन,” भन्दै उनले चेतावनी दिए, “यदि संघीयताविरुद्धको आन्दोलनलाई उचाइमा नउठाउने हो भने देश सिक्किम बन्न सक्छ ।” राजमोले गणतन्त्र र राष्ट्रियतालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, “सबै कुरा गौण छन्, मुख्य कुरा राष्ट्र हो ।”

उनले राजा हटाइएका कतिपय देशहरूमा पुनर्स्थापनाको उदाहरण दिँदै नेपालमा पनि प्रतिगमनको खतरा कायमै रहेको बताए ।

राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले आन्दोलनमा सहभागी र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । उनले भने, “गत डेढ वर्षदेखि उच्चस्तरको आन्दोलन सम्भव थिएन, तर अहिले सम्भव भएको छ ।” करिब तीन दर्जन साथीहरू एक महिनाअघि नै काठमाडौं आएर तयारी थालेको स्मरण गराउँदै उनले आन्दोलनमा सहभागी कार्यकर्ताको सक्रियता प्रशंसायोग्य रहेको बताए ।

अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले राजमो कार्यकर्ताको अनुशासनबाट काठमाडौंको प्रशासन समेत प्रभावित भएको दाबी गरे । उनले भने, “काठमाडौंको प्रहरी र प्रशासन राजमो नेताकार्यकर्ताको अनुशासनबाट प्रभावित छन् ।” जनताले राजमोको नीति र अनुशासनबीचको मेल देखेको बताउँदै उनले अझ उच्चस्तरको आन्दोलनको तयारीमा रहनुपर्नेमा जोड दिए ।

अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष प्राडा श्रीधर गौतमले विषम परिस्थितिमा पनि राजमोले आन्दोलन अघि बढाएको बताउँदै भने, “राजनीतिक स्वतन्त्रता पाए पनि आर्थिक स्वतन्त्रता नपाएसम्म मुलुक स्वतन्त्र हुँदैन ।”

नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले राजमोको आन्दोलनले संघीयताको सन्दर्भमा नयाँ बहस सुरु गरेको बताए । उनले भने, “काठमाडौंकेन्द्रित आन्दोलनले संघीयताबारे पुनः बहस सिर्जना गरेको छ ।” संघीयता खारेज नगरे देश विखण्डनको खतरा हुने बताउँदै उनले संविधान संशोधनमा पनि यो आन्दोलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro